मकवानपुर । मकवानपुर क्षेत्र नम्बर २ प्रदेशसभा क’ की उम्मेदवार कुमारी मोक्तानले गठबन्धनको सरकार बनेमा तेब्बर बजेट ल्याउने बताएकी छिन् । नेकपा माओवादी केन्द्रकी मकवानपुर इन्चार्ज माेक्तानले भीमफेदी गाउँपालिकाकाे चुनावी कार्यक्रममा गठबन्धनले बोलेको पुरा गरेर बिकास गर्नेमा मतदातालाई ढुक्क हुन आग्रह समेत गरिन् ।
‘हामी (प्रदेश सरकार)ले यो गाउँपालिकामा २ अर्ब ८८ करोड बजेट हालेका छौ,’ बागमती प्रदेशकी सामाजिक विकास मन्त्री समेत रहेकी उनले भनिन्, ‘अब फेरी हाम्रो गठबन्धनको प्रदेश सरकार बन्यो भने डबल हैन, तेब्बर बजेट गाउँपालिकामा आउँने छ ।’ लोकतान्त्रिक बाम गठबन्धनका प्रतिनिधिलाई अबिश्वास गर्नुपर्ने कुनै ठाउँ नभएको भन्दै गठबन्धन सरकारले आमनागरिकको समस्या समाधानमा पहल गरेको उनको दाबी छ ।
यसैगरी चुनावी कार्यक्रममा नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सदस्य मुनु सिग्देलले गठबन्धनको सबै प्रतिनिधिले जनतालाई विश्वासघात नगर्ने भन्दै ढुक्क भएर गठबन्धनलाई मतदान गर्न आग्रह गरिन् । ‘हाम्रो गठबन्धनका उम्मेदवारले विश्वासघात गर्नुहुन्न, तपाईहरु ढुक्कले गठबन्धनलाई भोट हाल्नुहोस्,’ उनले भनिन् । मकवानपुरकै मुख्यमन्त्री भएरपनि एमालेका डोरमणि पौडेलले ३ बर्षमा आफ्नै वडा हेटौंडा ११ मा एउटा पुलबाहेक कतै बजेट नहालेको भन्दै उनले लोकतान्त्रिक बाम गठबन्धनले जितेमा विकास र आर्थिक समृद्धीका लागि भूमिका खेल्ने दावी गरिन् ।

