मकवानपुर । मकवानपुरमा आसन्न निर्वाचनमा उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरु ग्रामिण बस्तीहरुमा घरदैलो कार्यक्रममा व्यस्त हुन थालेका छन् । उम्मेदवारहरुसँग मतदाताहरुले आ आफ्नो स्थानमा रहेको व्यक्तिगतदेखि सामाजिक विकासका समेत माग गर्ने गरेका छन् ।
मकवानपुरको बागमती गाउँपालिकामा भएको मतदाता भेटघाटमा गुणस्तरीय शिक्षा र स्वास्थ्यको माग उम्मेदवारसँग राखेका छन् । बागमती गाउँपालिका ३ माझगाउँका मतदाताले त्यसै क्षेत्र अन्तर्गत प्रतिनिधि सभा १ प्रदेश सभा क का उम्मेदवार प्रेम बहादुर पुलामीसँग गुणस्तरीय शिक्षा र स्वास्थ्यको माग गरेका हुन् । नेकपा माओवादी केन्द्र बागमती प्रदेश उपाध्यक्ष तथा सत्ता गठबन्धनका प्रदेश सभा उम्मेदवार पुलामीसँग शिक्षा स्वास्थ्य लगायत भौतिक पूर्वाधारको निर्माण समेतको माग गरेका हुन् ।
बागमती गाउँपालिका १ का डोर बहादुर थापाले नेता पुलामीसँग गाउँपालिकामा प्रदेश सरकार र स्थानीय सरकारले विकास गरेको भए पनि त्यो पर्याप्त नभएको बताए । थापाले भने– भौतिक विकासका धेरै काम भएका छन् तर शिक्षा स्वास्थ्य जस्था जनताको आधारभूत आवश्यकताको विकासमा समेत पहल गरिदिनु होला ।’ नेता पुलामीको गृह पालिका भएकोले उहाँले आफ्नो क्षेत्रमा उलेख्य विकास गर्नु पर्ने थापाले सुझाव दिए ।
अर्का मतदाता भेष बहादुर घिसिङले पहिलाको बागमती र अहिलेको बागमतीमा आकाश जमिनको फरक भएको बताउँदै नेता पुलामीको पहलमा विकास निर्माणले गति लिएको बताए । बागमती २ की बिक्की पहरीले बर्तमान राईगाऊँ, माझगाऊँमा विकासले गति लिएको भएपनि खहरे नियन्त्रण, पुल लगाएतका कार्य पुरा हुन अझ बाँकी रहेको भन्दै नेता पुलामीबाट नै यस क्षेत्रका मतदाताहरुले अपेक्षा राखेको बताइन् ।
उम्मेदवार पुलामीले आफु निर्वाचित हुँदा होस वा उम्मेदवार नै नरहेको अबस्थामा होस यस क्षेत्रका जनतालाई साथ नछोडेको बताए । ब्यबस्था बदल्न भएको निर्वाचनको कार्यभार पुरा गर्न सफल भएको भन्दै अब अबस्था बदल्न पनि सफल हुने बिस्वास ब्यक्त गर्दै जनअपेक्षा बमोजिम आफुले काम गर्ने प्रतिबद्धता समेत उनले ब्यक्त गरे ।

