मकवानपुर । तिहारको समयमा खेलिने द्यौसि भैलो कार्यक्रम राती नखेल्नको लागि प्रशासनले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्लाका दश वटै स्थानीय तहमा राति ९ बजेपछि देउसी र भैलो खेल्न रोक लगाएको हो । प्रशासनले देउसी र भैलो खेल्न राति ९ बजेको समयसीमा तोकेको मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले बताए ।
निर्वाचन नजिकिदै गरेकोले दिनहुं राजनीतिक गतिबिधी भइरहेको छ । यसै पनि सुरक्षा चुनौती बढेको बेला द्यौसी भैलो कार्यक्रमको पनि समयसिमा तोकिएको हो । प्रशासनले देउसीभैलो दिउसो भने खेल्न सकिने बताएको छ ।
गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासनलाई परिपत्र गरेर आ–आफ्नो जिल्लागत वस्तुस्थिति र सुरक्षा अवस्था हेरेर द्यौसि र भैलो कार्यक्रम गर्न समयसीमा राख्ने र नराख्नेबारे निर्णय गर्ने जिम्मा सम्वन्धित जिल्ला प्रशासनलाई नै अधिकार दिएको थियो ।
त्यो अधिकार अनुसार तोकिएको समयसीमा भित्र मात्रै द्यौसि र भैलोलगायत सांस्कृतिक र मनोरञ्जनात्मक कार्यक्रम गर्न दिने निर्णय भएको प्रजिअ पाण्डेले बताए । । प्रशासनको आदेश उल्लंघन गरेमा कानुन अनुसार कारबाही गरिने जनाएको छ । प्रशासनले पटका, आतसबाजी तथा अन्य प्रज्वलनशील पदार्थको ओसारपसार, बिक्री तथा प्रयोग नगर्न पनि अपिल गरेको छ ।

