मकवानपुर । निर्वाचन आयोगले निर्वाचन प्रयोजनका लागि निर्धारित चिह्न मध्ये ३ वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर गरेकाे छ । आयोगको असोज २७ गतेको निर्णयअनुसार मङ्सिर ४ गते हुने प्रतिनिधिसभा सदस्य र प्रदेशसभा सदस्यको निर्वाचन प्रयाेजनकाे लागि निर्धारित चिह्न मध्ये ३ वटा निर्वाचन चिह्नमा सामान्य हेरफेर गरेकाे आयाेगले जनाएकाे छ ।
आयाेगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्यको निर्वाचन निर्देशिका, २०७९ को दफा ८७ ले दिएको अधिकार प्रयोग गरी उक्त निर्वाचन चिह्नको अनुसूचीमा रहेको आकारमा हेरफेर गरिएको हो । चिह्न भने उही रहेको बताइएकाे छ । निर्वाचन आयोगमा अभिलेखमा रहेको निर्वाचन चिह्नको नाम र चिह्नमा केही भिन्नता देखिएको र आयोगमा रहेको अभिलेख र निर्देशिकामा रहेको विवरणबीच भिन्नता पाइएकाले निर्णय गरि निर्वाचन चिन्हमा सामान्य हेरफेर गरिएको आयोगका सहायक प्रवक्ता कमल भट्टराईले जानकारी दिए ।
उक्त निर्णय बमोजिम प्रतिनिधिसभा सदस्य निर्वाचन तथा प्रदेशसभा सदस्य निर्वाचन निर्देशिका, २०७९ को अनुसूची २९ को क्रम सङ्ख्या १३ मा रहेको हाम्रो नेपाली पार्टीको निर्वाचन चिह्न लौरो र अनुसूची—३० को खण्ड (क) मा रहेका प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रयोजनका लागि राखिएको स्वतन्त्र उम्मेदवारको निर्वाचन चिह्न अन्तर्गत डोजर र क्रस खुकुरी निर्वाचनमा समेत हेरफेर गरिएको सहायक प्रवक्ता भट्टराईले बताए ।


