मकवानपुर । सरकारले आज कात्तिक २ र भोलि कात्तिक ३ गते पाँच वर्ष मुनिका बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउदै छ । उक्त कार्यक्रममा आफ्ना बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागले सर्वसाधरणमा अनुरोध गरेको छ ।
आफूलाई पायक पर्ने खोप केन्द्रमा गएर बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउन सकिने विभागले जनाएकाे छ । स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाले देशभरका ६ देखि ५९ महिनाका २७ लाख बालबालिकाहरूलाई भिटामिन ए क्याप्सुल खुवाइने जनाएको छ । यसैगरी १ देखि ५ वर्षसम्मका २३ लाख ९३ हजार बालबालिकालाई जुकाको औषधि खुवाइने विभागले जनाएको छ ।
यस्तै मकवानपुरको हेटौडा उपहानगरपालिकामा भिटामिन ए कार्यक्रम अन्तर्गत ९२ जना महिला स्वास्थ्य स्वयं सेवीका र ९२ जना स्वास्थ्य आमा समूहका सदस्यको सहयोगमा भिटामिन ए र जुकाको औषाधि खुवाइने भएको छ । कार्यक्रमको दुवै दिनका लागि ९२/९२ केन्द्र तोकिएको हेटौंडा उपमहानगरपालिकाले जनाएको छ । उपमहानगरमा ६ महिनादेखि ५ वर्षसम्मका करिब १४ हजार बालबालिकाले सेवा लिने अनुमान गरिएको बताइएको छ । उपमहानगरपालिकामा प्रत्यक वडाबाट १ जना र पालिकाबाट १० जना सुपरिवेक्षक अनुगमनको लागि खटाइने छ । कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको उपमहानगरले जनाएको छ ।
६ महिनादेखि ५९ महिनासम्मका बालबालिकामा हुनसक्ने स्वास्थ्य जटिलता तथा कुपोषणको जोखिम न्यूनीकरण गर्नका लागि सरकारले २०५० सालबाट भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस्तै २०५६ सालबाट जुकाको औषधि खुवाउन थालिएको हो । वर्षमा दुई पटक पहिलो चरणमा कात्तिक २ र ३ गते तथा दोस्रो चरणमा वैशाख ६ र ७ गते बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाउने गरिन्छ ।

