मकवानपुर । राप्रपा नेपालका अध्यक्ष कमल थापाले नागरिकता कागजको खोस्टो मात्र नभएकोले विवाह गरेर ल्याएको भोलिपल्टै नागरिकता दिने कुरामा सहमत हुन नसकिने बताएका छन् ।
चुनाव केन्द्रित कार्यक्रममा गृहजिल्ला मकवानपुरमा ब्यस्त रहेका थापाले मकवानपुरको बकैया गाउँपालिकामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् । “प्रत्येक नेपालीले नागरिकता पाउनुपर्छ, जन्मसिद्ध नेपाली नागरिकका सन्तानले सहजरुपमा नागरिकता पाउनुपर्छ” अध्यक्ष थापाले भने ।
विवाह गरेर ल्याएको भोलिपल्ट विदेशीलाई नागरिकता दिने व्यवस्था भएको विधेयकलाई स्विकार गर्न नसकिने उनले बताए । राजनितीदलहरु तथा युवाहरु राजनीतिक स्वार्थको गोटि बन्न थालेपछि यस्ता सवाल आएको उनले बताए ।
सरकार र दलहरुको मर्यादाहिन व्यवहारको कारण संविधानले सकारात्मक परिवर्तन दिन नसकेको टिप्पणी गर्दै थापाले
लोकतन्त्रको आवरणमा ब्रम्हलुट र सर्वसत्तावादी प्रवृत्ति हावी भएको बताए ।
संविधान पतन हुनबाट जोगाउन दलहरुको व्यवहारमा सुधार अनिवार्य भएको भन्दै थापाले धर्मनिरपेक्षता र प्रदेश तहको खारेजी आवश्यक भएको समेत बताए ।
चुनावि तयारीको लागि मकवानपुर जिल्लाको बकैया गाउँपालिका पुगेका थापाले
पार्टीको गाउँ कमिटीको कार्यालय समेत उद्घाटन गरे ।

