मकवानपुर । झण्डै चार वर्षपछि देशभरका यातायात संस्था नवीकरण गरिने गरी सरकारले निर्णय गरेपछि यातायात संस्थाहरु पुनः सामाजिक संस्था ऐन अन्तरगत सञ्चालनमा आउने भएका छन् ।
देशभरका यातायात संस्था पुनः सामाजिक संस्था ऐन अन्तर्गत सञ्चालन हुने भएको हुन् । नेपाल सरकारले चार वर्षअघि गरेको देशभरका यातायात संस्थाहरुको खारेजी र कम्पनीमा जानुपर्ने बाध्यात्मक निर्णय उल्टिएसँगै देशकै ठुलो यातायात संस्था नारायणी यातायात संस्था ४ वर्षपछि नविकरण गरिएको छ । संस्थाले आज हेटौंडामा पत्रकार सम्मेलन गर्दै यस्तो जानकारी गराएको हो ।
वर्तमान सरकारले सबै यातायात संस्थाहरुलाई साविककै संस्था दर्ता ऐन २०३४ अन्तर्गत पछिल्लो चारवर्षको समेत नवीकरण गर्ने निर्णयपछि देशभरका यातायात संस्थाहरु नवीकरण भएर साविककै अवस्थामा फर्केका छन् । देशभै ठूलो यातायात संस्था नारायणी यातायात व्यवसायी संघले पनि असोज ४ गते चारवर्षपछि नवीकरण भएको पत्रकार सम्मेलन गरेर संस्थाकै नाममा सामाजिक कार्य अघि बढाउने जानकारी दिएको छ ।
कार्यक्रममा पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडाले तत्कालीन केपी ओली सरकारबाट यातायात संस्थामाथि भएको प्रहारलाई वर्तमान सरकारले सच्याएको र शक्ति र सत्तामा रहँदा बदमासी गर्नेहरु जनताको नजरमा गिर्ने बताए । उनले आगामी दिनमा पनि संघलाई सशक्त र सक्रिय बनाउन आग्रह गर्दै सहयोग रहने बताए ।
बागमती प्रदेशका सामाजिक विकास मन्त्री कुमारी लामाले मकवानपुरको सामाजिक क्षेत्रमा क्रियाशील संस्थामाथि सरकारबाटै प्रहार हुँदा सहयोग गरिएको स्मरण गरिन् । कार्यक्रममा प्रदेश सभाका निवर्तमान सांसदहरु मुनु सिग्देल, प्रेमबहादुर पुलामीले पनि नारायणी यातायातसँगै देशभरका यातायात संस्थाहरु नवीकरण भएकामा बधाई दिँदै सामाजिक योगदानमा सहकार्य गर्न अपिल गरि ।
नेकपा एमालेका नेता अनन्त पौडेल, मकवानपुर अध्यक्ष एकालाल श्रेष्ठले विगतलाई बिर्सेर आगामी दिनमा सहकार्य गरेर जाने प्रतिवद्धता व्यक्त गरे । नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हीरालाल श्रेष्ठले यातायात व्यवसायीका पक्षमा सरकारले गरेको निर्णयको स्वागत गरे ।
सरकारले २०७४ चैत १८ गते याताया संस्था कम्पनीमा दर्ता गर्ने निर्णयसँगै २०७५ बैशाख ४ गते यातायात संस्था नवीकरण नगर्ने निर्णय गरेको थियो । पछिल्लो पटक भदौ २० गते यातायात संस्थाको नवीकरण गर्ने निर्णय गरेको थियो । गृह मन्त्रालयले भदौ २९ गते जिल्ला प्रशासनहरुलाई यातायात संस्था नवीकरणका लागि पत्राचार गरेपछि नारायणी यातायात कार्यालयले असोज ४ गते नवीकरण भएको अध्यक्ष श्रेष्ठले बताए ।
देशभर २६ वटा यातायात संस्था नवीकरण हुँदा ६५ हजार ट्रकका धनीहरु कम्पनी छाडेर पुनः सामाजिक संस्थामा आवद्ध हुने अध्यक्ष श्रेष्ठले बताए ।

