मकवानपुर । नेपालमा २ लाख ५४ हजार मतदाता थपिएका छन् । गत वैशाख ३० गते भएको स्थानीय चुनावमा १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता थिए। चुनावपछिकाे करिब ३ महिनाको अवधिमा २ लाख ५४ हजार ८ सय ४७ मतदाता थपिएका छन्।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा कुल मतदाता संख्या १ करोड ७९ लाख ८८ हजार ५ सय ७० रहेको कायम भएकाे निर्वाचन आयाेगले जानकारी दिएकाे छ । २०७९ साउन १९ गतेभित्र मतदाता नामावलीमा नाम दर्ता गरी आगामी मंसिर ३ गतेसम्ममा १८ वर्ष उमेर पूरा हुनेहरुको नाम अन्तिम नामावलीमा समावेश गरिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोग शुक्रबार विज्ञप्ति जारी गर्दै कुल मतदाता संख्या सार्वजनिक गरेको हो । आयोगका अनुसार कुल मतदातामा ८८ लाख ४७ हजार ५ सय ७९ जना महिला, ९१ लाख ४० हजार ८ सय ६ जना पुरुष र १ सय ८५ जना अन्य रहेका छन् ।
यसैगरी मतदाता संख्या समेतका आधारमा आयोगले १० हजार ८ सय ९१ मतदान स्थल अन्तर्गत २२ हजार २ सय २६ मतदान केन्द्रहरु रहेन गरी मतदान केन्द्र स्वीकृत गरेको छ । आयोगले सवै भन्दा बढी मतदाता भएकाे जिल्ला तथा प्रदेश समेतकाे संख्या विज्ञप्तीमा उल्लेख गरेकाे छ । यस्तै सवै भन्दा कम मतदाता रहेकाे जिल्ला तथा प्रदेशकाे विवरण समेत आज शुक्रबार प्रकाशित विज्ञप्तिमा छ ।
२०७४ को संसदीय निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९ सय ३८ मतदाता रहेकाे आयोगले जनाएकाे छ ।

