मकवानपुर । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन ६८ दलले निवेदन दिएका छन् ।
निर्वाचन आयोगमा दर्ता भएका ७६ दलमध्ये प्रतिनिधि सभा निर्वाचनको समानुपातिकतर्फ भाग लिन ६८ दलले निवेदन दिएकाे सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले आज एक विज्ञप्ती जारी गर्दै जानकारी दिए ।
त्यस्तै प्रदेश सभा सदस्यको समानुपातिक निर्वाचन प्रणालीतर्फ प्रदेश नं. १ मा ५५, मधेसमा ५९, बागमतीमा ५८, गण्डकीमा ५२ दलले निवेदन दिएका छन् । लुम्बिनीमा ५४, कर्णालीमा ४९ र सुदूरपश्चिममा ५० वटा निवेदन परेको विज्ञप्तीमा उल्लेख गरिएकाे छ ।
यस अघी प्रतिनिधि सभा निर्वाचनमा सहभागी हुन ७५ दलले आआफ्नो निर्वाचन चिह्नबाट सहभागी हुने गरेर तथा १२ दलले संयुक्त निर्वाचन चिह्न लिएर निर्वाचनमा सहभागी हुनेगरी आयोगमा निवेदन दिएको जानकारी दिए । ती १२ दलले ४ दलका संयुक्त चिह्नबाट निर्वाचनमा सहभागी हुन चाहेका हुन् । यसरी आगामी प्रतिनिधि सभा निर्वाचनमा भाग लिने दलकोे संख्या ८७ र चिह्न ७९ कायम भएको हो ।
नेपाललाई जनसंख्या र भौगोलिक अनुकूलता तथा विशिष्टताका आधारमा १ सय ६५ निर्वाचन क्षेत्र कायम गरी प्रत्येक निर्वाचन क्षेत्रबाट एक जना रहनेगरी पहिलो हुने निर्वाचन प्रणालीबमोजिम निर्वाचित हुने १ सय ६५ जना र सम्पूर्ण देशलाई एक निर्वाचन क्षेत्र मानी राजनीतिक दललाई मत दिने समानुपातिक निर्वाचन प्रणालीबमोजिम निर्वाचित भएका १ सय १० जना गरी प्रतिनिधि सभामा कुल २७५ सदस्य रहने संवैधानिक व्यवस्था छ । यसैगरी, प्रदेश सभामा प्रत्यक्षतर्फ ३३० र समानुपातिक निर्वाचन प्रणालीतर्फ २ सय २० गरी नेपालका सातवटै प्रदेशमा गरी प्रदेश सभामा कुल ५ सय ५० सदस्य रहने व्यवस्था छ ।


