मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषधसहित २ जनालाई पक्राउ गरेको छ । नाईट्रोभेट ६०० ट्याब्लेट, डाईजेपाम ९३० एम्पुल लागूऔषधसहित उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा मोरङ बिराटनगर महानगरपालिका-१५ घर भई पर्सा बिरगंज बस्ने २२ वर्षीय रंजित शर्मा र बिरगंज बस्ने जटाशंकर सोनार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीका अनुसार उनीहरुलाई विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । विहीबार बिहान बिरगंजबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ८४२५ नम्वरको यात्रुबाहक बसलाई हेटौंडा–१५ रातोमाटे चेकपोष्टस्थित सडकखण्डमा चेकजाँच गर्दा उक्त परिमाणमा लागूऔषध बरामद गरिएको प्रहरीले जनाएको छ । बसमा सवार रंजित शर्माले ल्याएको २० किलोको चामलको बोराभित्र उक्त परिमाणको लागूऔषध बरामद भएको कार्कीले बताए ।
शर्माले बरामद लागूऔषध जटाशंकर सोनारले पठाएको बताएका थिए । ना २६ प ७९८० नम्वरको मोटरसाइलमा चितवनतर्फ जाँदै गरेकोमा हेटौंडा नारायणगढ सडकखाण्डको लोथरस्थित सडक किनारमा बसिरेहेको अवस्थामा सोनारलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिए ।
बरामद लागूऔषध र मोटरसाइकलसहित पक्राउ परेका उनीहरुमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
In: मुख्य खबर, सुरक्षा खबर, स्थानीय खबर/समाज
Tags: No Comments

