मकवानपुर । पछिल्लो २४ घण्टामा ६ सय २० जनामा काेराेना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यसै अवधिमा देशभर काेराेना संक्रमण पुष्टि भएका १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ५ हजार ८ सय ४६ जनाको पीसीआर र ३ हजार १ सय ९५ को एन्टिजेन नमूना परीक्षण गरिएको थियो । उक्त परीक्षणबाट ६ सय २० जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५ सय ६७ रहेको छ । अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ९ सय ६७ पुगेको छ । होम आइसोलेशनमा ४ हजार ४ सय २४, संस्थागत आइसोलेशन १ सय ४३ र आइसियू ३३ र भेन्टिलेटरमा ५ सङ्क्रमित रहेका छन् ।
यस्तै गत २४ घण्टामा २ सय ९७ कोरोना सङ्क्रमणमुक्त भएका छन् । यससँगै सङ्क्रमण मुक्त हुनेको सङ्ख्या ९ लाख ७० हजार ६२ पुगेको छ । सङ्क्रमण मुक्त हुने दर ९८ दशमलव तीन प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा २५ हजार ४ सय ३६ जनाले कोभिड विरुद्धको खोप लगाएका छन् ।
हाल देशभरमा ५ सय भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्ला काठमाडौँ र ललितपुर तथा २ सय भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा मोरङ र कास्की छन् । शून्य सङ्क्रमित रहेका जिल्लामा मनाङ, कालिकोट, मुगु, हुम्ला, बाजुरा, दार्चुला र बझाङ रहेका छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा २ हजार ६ सय ५ र ललितपुर ५ सय ५ र भक्तपुरमा ३७ सक्रिय सङक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

