मकवानपुर । बागमती प्रदेश अन्तरगत मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले विगत ५ वर्षदेखि करारमा काम गर्दै आएका कर्मचारीको करार सम्झौता नविकरण नगर्ने निर्णय गरे लगतै यसै प्रदेशको ललितपुर जिल्लाको अर्को पालिकाले पनि कर्मचारीलाइ सेवाबाट हटाएको छ ।
ललितपुरको बागमती गाउँपालिकाका यस अघि करार सम्झौतामा काम गर्दै आएका ११ जना कर्मचारीलाई सेवामा नविकरण नगर्ने भएको हो । गाउँपालिकाको कार्यपालिका बैठकले करार अवधि नथप्ने निर्णय गरेसँगै ११ जनाले सेवाबाट हट्नु पर्ने भएको छ ।
गाउँपालिकामा ४५ जना करार सेवामा कार्यरत कर्मचारी रहेकोमा ११ जनाको करार थप नभएको हो । कर्मचारीहरूलाई आजै आइतबार मात्रै करार अवधि नथप्नेबारे जानकारी गराइएको थियो ।
गाउँपालिकाको स्वास्थ्य संस्थामा काम गर्ने कर्मचारीहरूलाई समेत सेवाबाट हटाइएपछि स्वास्थ्य सेवा प्रभावित हुने भएको छ । स्वासथ्य जस्तो संवेदनशील क्षेत्रमा वर्षौंदेखि काम गरिरहेका र राज्यले प्रसूति सेवालगायतमा तालिम दिएर लगानी गरेका कर्मचारीलाई सेवाबाट हटाइदा राज्यको लगानी समेत खेर गरेको गुनासो गरिएको छ ।
गाउँपालिकाको निर्णयबाट उत्तरी मकवानपुर जिल्लाको दक्षिणभागमा बसोबास गर्ने स्थानीयहरु समेत प्रभावित हुने भएका छन् । ललितपुर जिल्लाको आश्राङ, गिम्दी, प्युटार र ठूलादुर्लुङलगायत ठाउँबाट उपचार गर्न आउने सेवाग्राही प्रभावित हुने भएका छन् । गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर दर्लामीले कर्मचारी धेरै भएर करार थप नभएको बताए । उनले कर्मचारी निकालेर अरू भर्ना गर्ने भन्ने तयारी नभएको दाबि गरे ।
२ दिन अघि मकवानपुर जिल्लाको मकवानपुरगढी गाउँपालिकाले डण् जना कर्मचारीलाई सेवा अवधि नथप्ने सूचना जारी गरेको थियो ।
