मकवानपुर । मकवानपुरकाे अग्रेणी साहित्य संस्था मातृभूमि साहित्य समाजले भाषा, साहित्य, कला लगायतका विभिन्न विधाका ६ जनालाई समेत शनिबार सम्मानित गरेकाे छ । समाज उनीहरुलाई विभिन्न पुरस्कारबाट शनिबार हेटौडामा सम्मानित गरिएकाे हाे ।
समाज अध्यक्ष माधब पोखरेलका अनुसार आशिष श्रेष्ठले बुवाको नाममा स्थापना गरेकाे श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार, २०७८ बाट समाजसेवी सिद्धिलाल श्रेष्ठ (हेटौंडा) सम्मानित भएका छन् । १५ हजार राशीकाे उक्त पुरस्कारबाट श्रेष्ठ सम्मानित भएका हुन् ।
यस्तै समाजका उपाध्यक्ष कृष्ण प्रसाद दहालद्वारा बुवाको नाममा स्थापित १५ हजार राशी नगद रहेकाे इश्वरी स्मृति मातृभूमि पुरस्कार २०७८ संचारकर्मी सुषमा केसी श्रेष्ठ (काठमाडौं) तथा अर्चना रिजालद्वारा आफ्ना श्रीमानको नाममा स्थापित १५ हजार राशी नगद रहेकाे शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक सम्मान २०७८ बाट गोकुल लाल श्रेष्ठ (मकवानपुर) र निरा गोर्खाली (मकवानपुर) सम्मानित भएकाे पाेखरेलले जानकारी दिए ।
यसैगरी, १० हजार रुपैयाँ राशीकाे हातेमालो मातृभूमि युवा सृजनशील पुरस्कार २०७८, गायिका सुनिता बुर्लाकोटी लुईटेल (हेटौंडा) लाई सम्मानित गरिएकाे छ भने समाजका पुर्व अध्यक्ष राजबाबु पहाडीद्वारा स्थापित ६ हजार ५ सय रुपैयाँ राशीकाे झलक बहादुर बानियाँ जीवन संघर्ष पुरस्कार मातृभूमि सम्मान, २०७८ हेटौडा १८ हर्नामाडी स्थित कमला आधारभूत विद्यालय कक्षा ७ की विद्यार्थी सृजना लोलाई प्रदान गरिएकाे छ ।
कार्यक्रममा स्रष्ट्राहरुकाे विभिन्न सिर्जनाहरु सुनिएका थिए । हेटौंडा उपमहानगरका मेयर मिनाकुमारी लामाको प्रमुख अतिथ्यतामा भएकाे पुरस्कार वितरण तथा सम्मान कार्यक्रम समाजका अध्यक्ष माधव पोख्रेलको अध्यक्षतामा भएको थियाे ।

