साहित्यकाे लघुकथा विधामा कलम चलाउनु हुने लघुकथाकार राजु क्षेत्री अपुराेका ४ वटा लघुकथा कृति प्रकाशन भएकाे छ । क्षेत्रीसँग मिसन टुडे पत्रिका बाँकेले लिएकाे अन्तर्वार्ता हामीले यहाँ राख्ने जमर्काे गरेका छाैं ।
लघुकथालाई कसरी परिभाषित गर्नुहुन्छ ? लघुकथा के हो ? के होइन ?
एउटा निश्चित मूल्य र मान्यताको परिधी भित्र रहि सरल र सटिक ढङ्गबाट माला उनेर कौतुहलता प्रदान गर्दै आकर्षक समापन गरिएको लघुत्तम आकारको त्यो कथा जसले पाठकको मन र मस्तिष्कमा तरङ्ग पैदा गरोस् । त्यसलाई हामी लघुकथा भन्न सक्छौँ ।
लघुकथा आफैमा आख्यानको स्वतन्त्र प्रविधा हो । लघुकथा उपन्यास कथाको छोटो सारांश होइन ,न छोटो कथाको रुप नै हो। यसको संरचना छोटो भएपनि यसले दिने सन्देश प्रवाहमा निकै गहनता हुन्छ।
राम्रो लघुकथा हुनलाई के कस्ता कुराहरु हुन जरुरी छ ? लघुकथाको संरचना गर्दा छुटाउनै नहुने कुराहरू के के हुन् ?
जसरी एउटा सिल्पीको हातमा कुरुस र धागो पर्छ। उसले स्वेटर राम्रो बनाउँछ । त्यस्तै लेखनमा पनि कलापक्ष र सिल्पको आवश्यक पर्दछ। कमजोर लाग्ने विषयबस्तुलाई पनि लेखन कलाले सिँगारियो भने त्यो रचना राम्रो बन्न सक्छ। राम्रो बिषयबस्तु हुँदाहुदै पनि सिगार्न सकिएन भने त्यो कमजोर बन्न पुग्छ।भनाईको तात्पर्य लेखकमा लघुकथा बुन्न सक्ने गुणको खुबी हुनुपर्दछ।
लघुकथा लेख्दा मुख्य तवरले घटना , पात्र , द्वन्द , कथ्य , र दृष्टिबिन्दुलाई ख्याल राखेर लेखिनुपर्छ।
कथा र लघुकथा बीचको अन्तरसम्बन्ध कस्तो छ ? आकारमा छोटा कथालाई लघुकथा भन्न पाइन्छ कि पाइदैन ?
आख्यानमा उपन्यासलाई फुटबल मैदान, कथालाई भलिबल मैदान भनेजस्तै लघुकथालाई चेसबोर्ड को रुपमा लिन सकिन्छ।हुन त यी तिनै खेलहरू हुन् तर खेल्ने तरिका चाहिँ फरक फरक हुन्छन् । जहाँ सम्म लामो कथाको प्रसङ्ग छ।कथामा संक्षेपिकरण हुँदैन तर लघुकथामा संक्षेपिकरणको आवश्यकता हुन्छ। साथै कथामा उत्तर लेखकले बुझाउने गरि समापन गरेको हुन्छ भने लघुकथामा पाठकले नै उत्तर खोज्ने गरि लेखिन्छ।उत्तर प्राप्ती पछि पाठक सोच्न , घोत्लिन , मुस्कुराउन , आक्रोश पैदा गर्न वाध्य हुन्छ। छोटो लेखिदैमा मात्रै लघुकथा हुँदैन।
अग्रेजी साहित्यमा प्रयोग गरिने “सर्ट स्टोरी” नै नेपाली साहित्यको लघुकथा हो ? कि केही भिन्नता छ ?
मेरो बिचारमा भारतलाई इन्डिया , हिन्दुस्तान, बेलायतलाई ब्रीटेन , इङ्ल्यान्ड भनेर चिनिन्छ। त्यस्तै अङ्ग्रेजीमा सर्ट स्टोरी , माइक्रो स्टोरी नेपालीमा लघुकथा भनेको एउटै कुरा हो। यी सबै को लक्ष्य र उद्देश्य एउटै हो । मुख्य कुरा लघुकथामा आउनुपर्ने तत्व आयो वा आएन त्यो मुख्य कुरा हो। आएन भने त्यो लामो कथाको छोटो रुप हो भन्ने बुझ्नु पर्दछ।
लघुकथामा चार चार ओटा कृतिहरू प्रकाशित गरिसक्नु भएको छ । लघुकथाले कसरी लोभ्यायो ? लघुकथाको पछिल्लो गतिविधिलाई कसरी हेर्नू भएको छ ?
थोरै समयमा पढ्न सकिने , थोरैमा धेरै कुरा बुझिने , समाजमा भएका बिकृती , बिसंगती , राजनैतिक बेथिती माथी चोटिलो प्रहार गर्न सकिने माध्यम भएकै कारणले पनि म लघुकथा लेखनमा आकर्षित हुन पुगेको हुँ । लघुकथा लेखेर मात्रै हुदैन असल पाठक पनि बनाउनु पर्छ , लघुकथा गाउँ गाउँ बस्ती बस्ती सम्म पुग्नु पर्छ भन्ने अभिप्रायका साथ हामी हाम्रो लघुकथा पाठशाला पेज मार्फत अगाडी बढिरहेका छौँ । हाम्रा कतिपय गतिविधिहरूलाई अरु पेजहरूले पनि पछ्याउदै गइरहेका छन् । यो सुखद पाटो मान्न सकिन्छ। हामीले सप्ताहमा सातै दिन लाइभ वाचन गर्दै आइरहेका छौ भने हाम्रा कार्यक्रममा , समाचार वाचन,फर्माइस कार्यक्रम , लघुकथाका कृतिकारलाई लाइभ मै ल्याएर चिनाउने अभियान , हाम्रै टिमको परिकल्पना हो । हामीले लघुकथा गानको निर्माण समेत गरि गीत सङ्गीत मार्फत पाठकलाई थप आकर्षक बनाउँदै आइरहेका पनि छौं । यसको अतिरिक्त समीक्षा , सम्पादन , पुस्तक प्रकाशन प्रशिक्षण कार्य पनि चलाउँदै आइरहेका छौँ । हाम्रो पेजले छुट्टै तरङ्ग ल्याइदिएको छ र हाम्रो टिम लघुकथाको बिकास बिस्तारमा दत्तचित्त भएर लागेको छ। हामीले आ आफ्नो कार्य बिभाजन गरेर लघुकथालाई अझ स्थापित र उचाईमा पुर्याउने कार्य गर्दै आइरहेका छौँ ।

