मकवानपुर । चेपाङ प्रजातिको बाहुल्यता रहेको मकवानपुरको राक्सिराङ गाउँपालिका चेपाङ संरक्षित क्षेत्र घोषणा गरिने भएको छ । स्थानीय तह सदस्य निर्वाचन, २०७९ बाट निर्वाचित प्रतिनिधिहरुको पहिलो बैठकले गाउँपालिकालाई चेपाङ क्षेत्र संरक्षित क्षेत्र घोषणा गर्न पहल गर्ने निर्णय गरेको हो ।
निर्वाचनबाट अध्यक्षमा राज कुमार मल्ललगायत गाउँपालिकाको टिम निर्वाचित भएसँगै राक्सिराङ गाउँपालिकाको पहिलो कार्यपालिका बैठकले यो निर्णय गरेको हो । बैठकले अति विपन्न र सिमान्तकृत चेपाङ जातिको बाहुल्यता रहेको राक्सिराङलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गर्न प्रदेश र संघीय सरकारलाई अनुरोध निर्णय गरेको अध्यक्ष मल्लले बताए ।
यसैगरी राक्सिराङ आधारभूत अस्पतालमा स्वास्थ्य बीमा कार्यक्रम लागू गराउन पहल गर्ने लगायतका विभिन्न ८ वटा निर्णय पहिलो बैठकले गरेको उनले बताए ।
गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको अध्यक्षतामा बसेको ७६ औं कार्यपालिका बैठकले राक्सिराङ्ग गाउँपालिकावासीहरुलाई स्वास्थ्य उपचार र सुविधामा बढोत्तरी गर्नका लागि गाउँपालिका अन्तर्गत रहेको
राक्सिराङ्ग आधारभूत अस्पतालमा नेपाल सरकारद्धारा लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रम लागू गर्ने प्रकृया अगाडी बढाउने निर्णय गरेको छ । बैठकले गाउँपालिका अध्यक्ष संयोजक रहेको स्थानीय तह स्वास्थ्य बीमा संयोजन समितिसमेत गठन गरेको छ ।
अति गरीब तथा विपन्न परिवारको लागि नेपाल सरकारद्धारा लागू गरिएको स्वास्थ्य बीमा कार्यक्रमलाई वृहत्तर रुपमा वृद्धि गराउनुका साथै सो बीमाको लागि लाग्ने तोकिएको शुल्कको ७५ प्रतिशत रकम अनुदान स्वरुप गाउँपालिकाले उपलब्ध गराउने पनि निर्णय गरिएको गाउँपालिका अध्यक्ष मल्लले जानकारी दिए ।
राक्सिराङ्ग गाउँपालिकामा बर्षेनी चट्याङ्जन्य घटनाबाट जनधनको क्षति हुने गरेको अवस्थालाई मध्यनजर गर्दै चट्याङका घटनाबाट हुन सक्ने जनधनको क्षति न्यूनीकरण तथा रोकथामका लागि सम्पूर्ण राक्सिराङ्ग गाउँपालिकावासीलाई सचेत रहन अपील गर्ने, प्राविधिक अध्ययन समेत गराई प्रत्येक घरमा लाइटेनिङ एरेष्टर प्रविधि जडान गर्नको लागि अनुरोध गर्ने र सो जडान कार्यमा लाग्ने लागतमा प्रति परिवार पाँच हजारका दरले गाउँपालिकाबाट अनुदान उपलब्ध गराउने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ ।
गाउँपालिकाले यसअघि जारी गरेको भूउपयोग नीतिको कार्यान्वयनको लागि खेतीयोग्य बाँझो जग्गा जमिनको लगत संकलन गर्ने, बाँझो राखिएका जमिनहरुको हकमा कानून बनाई जरिवानाको दायरामा ल्याउनेलगायतको निर्णय गरेको छ । मल्ल यस गाउँपालिका अध्यक्षको लागि दोस्रो पटक निर्वाचित भएका हुन् ।
In: मुख्य खबर, स्थानीय खबर/समाज
Tags: No Comments

