मकवानपुर /हेटौंडा सामुदायिक आँखा अस्पतालले नेत्र स्वास्थ्यको बारेमा अन्तरक्रिया कार्यक्रम गरेको छ ।
आँखामा देखापर्ने समस्यालाई सामान्य ठानेर बस्दा यसको असर दीर्घकालिन हुनसक्ने भएकोले समयमै आँखाको उपचार गराउँन हेटौंडा आँखा अस्पताल प्रमुखका तथा नेत्र विशेषज्ञ डा सुनिल थकालीले आग्रह गरे । अस्पतालमा आँखा जाँचको लागि दैनिक औषत ३ सय जनासम्म आउने गरेको र धेरै जसको समस्या दृष्टिदोष र मोतियाबिन्दु रहेको उनले बताए ।
आँखा जाँचको लागि आउने ५० प्रतिशत बिरामीहरु स्वास्थ्य बीमाबाट सेवा लिन आउने गरेको तर स्वास्थ्य बिमा बोर्डले समयमै अस्पताललाई भुक्तानी नगर्दा समस्या भएको अस्पतालका प्रशासकीय प्रमुख सुधीरभद्र श्रेष्ठले बताए ।
स्वास्थ्य बिमा बोर्डबाट ३ करोडभन्दा बढी रकम लिन बाँकी रहेको उनले बताए । “अस्पतालले नगद खर्च गरेर स्वास्थ्य बिमाका बिरामीको उपचार गरिहेको छ, तर हामी उधारोमा कतिञ्जिेल चल्न सक्छौ” उनले भने “बीमाको सेवा दिनको लागि अस्पताललाई अतिरीक्त ३ जनासम्म कर्मचारीको भार खप्नु परेको उनले बताए ।
कार्यक्रममा आँखामा हुने समस्याहरु न्युन दृष्टि, दृष्टि दोष, अल्छी आँखा, आँखामा हुने चोटपटक, आँखाको आपतकालिन अबस्था, नवजात शिशुमा पाक्ने रोग, आँखाको नानीमा हुने घाउ, मधुमेहले गर्दा आँखाको पर्दामा हुने असर, जलबिन्दु, मोतिबिन्दु जस्ता रोग र यसबाट बच्ने उपाय, उपचार पद्धतीको बारेमा डाक्टर थकालीले जानकारी गराएका थिए ।

