मकवानपुर । हेटौंडामा जारी स्थानीय तह सहिद स्मृती अन्तराष्ट्रिय मकवानपुर गोल्डकप फुटबल प्रतियोगिता अन्तर्गत आज साेमबारकाे खेलमा त्रिभुवन आर्मी क्लब काठमाडाैं सेमिफाइनलमा प्रवेश गरेको छ । साविक विजेता विभागीय टोली आर्मी क्लब अर्काे विभागीय क्लब शसस्त्र प्रहरीकाे एपीएफलाई हराउँदै सेमिफाइनल प्रवेश गरेकाे हाे ।
हेटौंडा–५ स्थित पिप्ले क्याम्पा रंगशालामा साेमबारबाट सुरु भएकाे प्रतियोगिताको पहिलो क्वाटरफाइनल खेलमा आर्मीले एफिएफलाई ट्राइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिनेटको खेलमा १–१ गोलको बराबरी भएपछि खेल ट्राइब्रेकरमा धकेलिएको थियो । खेलको पहिलो हाफमा डिबक्सभित्र एपिएफका कप्तान टोपबहादुर विष्टको हातमा बलले लागेपछि आर्मीले पेनाल्टी पाएपनि एपिएफका गोलरक्षक राजु नगरकोटीले रोकेका थिए ।
त्यस्तै दोस्रो हाफकोको ६७ औँ मिनेटमा एपिएफका खेलाडीले डिबक्सभित्र फाउल गरेपछि आर्मीले दोस्रो पटक पेनाल्टी भएको थियो । दोस्रो पटक पाएको पेनाल्टीलाई आर्मीका दिनेश हेम्जनले सहजै गाेलमा परिणत गरे। तर, त्यो अग्रता जितको लागि पर्याप्त भएन । खेलको थप समयको अन्तिम मिनेटमा एपिएफका युवराज खड्काले गोल गर्दै टोली खेलमा फर्काएका थिए । त्यसपछि खेल ट्राईब्रेकरको निर्णय ट्राईब्रेकरको साहारा लिनु परेको थियो ।
ट्राईब्रेकरमा आर्मीलाई जित दिलाउन गोलरक्षक विकेश कुथु नायक बने । उनले ४–४ गोलको स्थितीमा उनले एपिएफका मणि कुमार लामाको प्रहार रोक्न सफल भएका थिए । आर्मीका दिपक गुरुङ, सिमान्त थापा मगर, सन्तोष के.सी., कमल बहादुर थापा र दिनेश हेम्जनले गोल गरेका थिए । उता एपिएफका नविन लामा, सुदिप शिखरकार, सनिश श्रेष्ठ र नविन थिङ्गले मात्रै गोल गरेका थिए ।
ट्राईब्रेकरमा टोलीलाई जित दिलाउन महत्वपुर्ण पेनाल्टी बचाउँ गरेका आर्मीका विकेश कुथु म्यानअफ द म्यच घोषित भए । उनले नगद १० हजार सहित ट्रफि हात पारे । आर्मीले फाइनल प्रवेशको लागि चर्च ब्वाइज क्लब र एभेनिर एफसी, क्यामरुन बीचको विजेतासँग खेल्नेछ। प्रतियोगिताको दोस्रो क्वाटरफाइनल खेल भोली मंगलबार नेपाल पुलिस क्लब र स्टार खेलाडीले भरिएको मनाङ मर्स्याङ्दी क्लबबिच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो साढे ३ बजे सुरु हुने छ ।
प्रतियोगितामा विभागीय क्लबहरु नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको (एपीएफ) क्लब, मनाङ मस्र्याङ्दी क्लब, फ्रेण्डस्, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहको आयोजकले बताएको छ ।
प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाासहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कारर राशी बृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उपविजेताले ५ लाख रुपैयाा प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।
प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाासहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।
अघिल्लो बर्षझैं यस बर्ष पनि सर्वोत्कृष्ट खेलाडीका लागि हेटौंडाको हेटौंडा स्कुल अफ म्यानेजमेण्ट एण्ड सोसियल साईन्सेज कलेजका संयोजक पुरणबहादुर जोशीले बुलेट मोटरसाइकल उपलब्ध गराउने भएका हुन् । प्रतियोगितामा एक करोड १७ लाख ९२ हजार रुपैयाँ कुल लागत लाग्ने अनुमान गरिएको आयोजकले बताएको छ ।

