मकवानपुर । बागमती प्रदेशसभाको बुधबारकाे बैठकमा नीति तथा कार्यक्रम माथि छलफल सुरु भएकाे छ । गत जेठ १६ गतेकाे बैठकमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सरकारकाे आर्थिक वर्ष २०७९/८० काे नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
संसदमा प्रस्तुत नीति तथा कार्यक्रममा बुधबार अपराह्न बसेको प्रदेशसभा बैठकमा छलफल भएको प्रदेशसभा सचिवालयले जनाएको छ । बैठकमा सत्तारुढ दल, प्रमुख प्रतिपक्ष दल र प्रतिपक्ष दल गरी २० जना प्रदेश सांसदहरुले नीति तथा कार्यक्रमका सम्बन्धमा धारणा राखेका थिए । सत्तारुढ दल नेकपा एकीकृत समाजावादी, नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका संसद्हरुले सरकारले ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम स्वागत योग्य रहेको बताए ।
सत्ता पक्षिय सांसदहरुले विगत ४ वर्षसम्म सरकारको नेतृत्व गर्ने दलले ल्याउन नसकेको योजनाहरु नीति तथा कार्यक्रममा समावेश गरेर सरकारले जनताप्रतिको उत्तरदायित्व निर्वाह गर्न सफल भएको बताए । यस्तै, प्रदेशको प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अष्टलक्ष्मी शाक्य, डोरमणि पौडेल, केशवराज पाण्डे, अरुण नेपाल लगायतले सरकारको नीति तथा कार्यक्रममा सम्बन्धमा बाेल्नु हुँदै सरकार चुनावी एजेण्डा बाँड्न सक्रिय रहेको बताए ।
उनीहरुले सरकार आफ्ना कार्यकर्ता पोस्न ऐन विपरितका योजनाहरु ल्याउन सक्रिय रहेको आरोप लगाए । विगतमा जस्तै सरकारले ऐन विपरित चुनावी एजेण्डाका रुपमा टुक्रे योजनाहरु ल्याउने प्रकृतिको नीति तथा कार्यक्रम ल्याएको बताए । बागमती प्रदेशका पहिलाे मुख्यमन्त्री डोरमणि पौडेलले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अपुरो, अधुरो र खोक्रो भएको बताएका छन् । नीति तथा कार्यक्रम सम्बन्धमा प्रदेश सभामा बाेल्दै पौडेलले नीति तथा कार्यक्रम मासु नभएको अस्पिपञ्जर जस्तो मात्रै भएको बताएका हुन् ।
प्रतिपक्ष सांसदहरुले कृषि क्षेत्रको विकास यन्त्रिकरणले मात्र सम्भव नरहेकाले आधुनिकीकरण र प्रविधिकरण गर्न जरुरी रहेकोले कम जमिनको प्रयोग गरेर बढी उत्पादन गर्न तर्फ सरकारले योजनाहरु ल्याउनु पर्नेमा जोड दिएका थिए । नीति तथा कार्यक्रममाथिकाे छलफल संसदमा विहीबार पनि जारी रहने प्रदेश सभा सचिवालयले जनाकारी दिएकाे छ । सभामुख सानुकुमार श्रेष्ठका अनुसार प्रदेशसभाको अर्को बैठक विहीबार बिहान ८ बजे बस्नेछ ।

