बागमती प्रदेशको राजधानी हेटौँडा उपमहानगरपालिकामा त्रिपक्षीय टक्कर हुने प्रारम्भिक नतिजाले देखाएको छ । मेयर पदको लागि आएको मतपरिणामलाई हेर्दा हेटौँडामा त्रिपक्षिय भिण्डन्त हुने आकलन गरिएको हो ।
हालसम्म गणना भएको २५ सय १८ मतमा गठवन्धनको तर्फबाट मेयरको उम्मेद्वार रहेकी मिना लामाले ७ सय ५४ मत प्राप्त गर्दा एमालेका मेयर उम्मेद्वार अनन्तप्रसाद पौडेलले ७५३ मत प्राप्त गरेका छन् । मेयरकै अर्का उम्मेद्वार राप्रपाका दिपकबहादुर सिंहले ६९१ मत प्राप्त गरेका छन् ।
हाल हेटौँडाको वडा नंबर १,२, १८ र १९ को मतगणना जारी छ । जसमा वडा नंबर १ र २ मा नेपाली कांग्रेसले अग्रता कायम गर्दा १८ र १९ मा एमालेले वडाध्यक्षमा अग्रता जारी राखेका छन् ।
उपमेयरमा भने गठवन्धनका राजेश बानियाको अग्रता फराकिलो हुँदै गएको छ । बानीयाँले १ हजार १ सय ५ मत प्राप्त गर्दा एमालेकी सुमित्रा काफ्लेले ९ सय ७ मत प्राप्त गरेकी छिन् । उपमेयरमा राप्रपाकी उम्मेद्वार इन्दीरा न्यौपानेले भने १५८ मत मात्र प्राप्त गर्न सफल बनेकी छिन् ।
