मकवानपुर । नवौं राष्ट्रिय खेलकुद २०७९ को लोगो, मस्कट र नारा सार्वजनिक गरििएकाे छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले नवौं राष्ट्रिय खेलकुदका लागि लोगो, मस्कट र नारा सार्वजनिक गरेको छ । गण्डकी प्रदेशमा आयोजना हुने प्रतियोगिताको लोगो, मस्कट र नारा शनिबार युवा तथा खेलकुद मन्त्री महेश्वर गहतराज र राखेपका सदस्य सचिव टंकलाल घिसिङले संयुक्त रुपमा सार्वजनिक गरेका हुन् ।
राष्ट्रिय खेलकुद परिषद्ले ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ भन्ने नारासमेत सार्वजनिक गरेको छ । लोगो र मस्कट भोलानाथ पौडेलले डिजाइन गरेका हुन् । लोगो र मस्कट छनोट खुल्ला प्रतिस्पर्धाबाट छनोट गरिएको हो । गन्डकी प्रदेशमा आगामी जेठ २२ देखि २८ गतेसम्म आयोजना हुने नवौं खेलकुदमा कस्तुरी मृगको मस्कट रहने भएको छ ।
लोगोको शीर्ष स्थानमा पोखराको पहिचानका रुपमा माछापुछ्रे हिमाल राखिएको छ । त्यसमुनि चारवटा रातो ट्र्याकले प्रदेश नम्बर संकेत गर्छ भने त्यसमुनि पंक्षीको आकृति दिइएको छ । गत वैशाख ४ गते राखेपले नवौं राष्ट्रिय खेलकुद प्रतियाेगिताकाे लागि लोगो, मस्कट, नारा र गीत निर्माणकाे लागि पुरस्कारको व्यवस्थासहित सार्वजनिक सूचना जारी गरेको थियो ।
सूचनाअनुसार लोगोका लागि १३ र मस्कटका लागि चार आवेदन परेको थियो । लोगोमध्येबाट भोलाको कला छनोट भए पनि मस्कटमा चारै आवेदनले मापदण्ड पूरा नगरेपछि भोलालाई नै बनाउने जिम्मा दिइएको राखेपले जनाएको छ । नवौं राष्ट्रिय खेलकुदको नारा ‘एकतावद्ध देश, खेलकुदको सन्देश’ रहेको छ । यो नारा खुला प्रतिस्पर्धाबाट शुयोग्यराज काफ्लेले जुराएका हुन् । लोगो र मस्कट बनाउनेले क्रमस: ५० र २५ हजार तथा नारा बनाउनेले १० हजार पुरस्कार प्राप्त गरेका छन् ।
राखेपले नवौं राष्ट्रिय खेलकुदका लागि गीत पेस गर्न पनि सूचना जारी गरेकोमा एउटामात्र आवेदन परेको तर त्यस गीत प्रतियोगिताका लागि सुहाउँदो नभएकोले पारित नगरिएको जनाएको छ । प्रतियोगिता तयारी तीव्र रुपमा भइरहेको राखेपले जनाएकाे छ । प्रतियोगितामा ३६ नियमित र २ प्रदर्शनी खेल समावेश गरिने भएकाे छ ।

