मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाका प्रमुख लवशेर बिष्टले राजिनामा दिएका छन्। बिहीबार प्रमुख बिष्टले उपप्रमुख खड्ग बहादुर गोपालीसमक्ष राजिनामा दिएका हुन्। बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि पार्टीको चुनाव प्रचारप्रसारमा संलग्न हुन राजिनामा दिएको नगरप्रमुख बिष्टले बताए ।
उनले स्थानीय तहको निर्वाचनका लागि पार्टीको चुनाव प्रचारप्रसारमा लाग्न निर्वाचन आचारसंहिता अनुसार नमिल्ने भएकोले राजिनामा दिएका हुन । “दल छोडी पद,पद छोडी दल”भन्ने रुपचन्द्र बिष्टको भनाइलाई मनन गर्दै आफुले फेरी पद छाेडी दलकाे लागि राजिनामा दिएको बिष्टले बताए।
नेकपा माओवादी केन्द्र बागमती प्रदेश कमिटि सदस्य बिष्टले गठबन्धनकाे प्रचारप्रसार तथा चुनावी सभाको सम्बोधन गर्नेछन् बताइएकाे छ । माओवादी केन्द्रका तर्फबाट थाहा नगर प्रमुख पदका आधिकारिक उमेद्वार बिष्णु बिष्ट ‘आदर्श’, कांग्रेसको तर्फबाट उपप्रमुख पदका आधिकारिक उमेद्वार भरत गोपाली लगायतका उमेद्वारकाे पक्षमा मत माग्दै विजयी गराउन उनले प्रचारप्रसारलाई सघाउने छन् । ‘अब आफू निर्धक्क भएर पार्टीको चुनाव प्रचारमा हिड्ने बताउदै गठबन्धन उमेद्वारहरुलाई बिजयी गराउन लागि पर्ने बिष्टले बताए।
बिष्ट नेतृत्वको ५ बर्षे कार्यकालमा थाहानगरको विकासमा ठुलो फड्को मारेको थियो । यही बिकासलाई निरन्तरता दिन र बाँकी रहेका कार्यहरुलाई सम्पन्न गर्न माओबादी केन्द्र लगायत गठबन्धनका उमेद्वारहरुलाई बिजयी गराउन बिष्टले अनुरोध समेत गरे। बिष्टले आफ्नो कार्यकालमा थाहा नगरलाई देशकै उत्कृष्ट स्थानीय तहको रुपमा परिचित गराएका थिए । सोही कार्यकालमा थाहा नगर वित्तीय समानीकरण अनुदान प्रयोजनका लागि प्राकृतिक स्रोत तथा वित्त आयोगले प्रदेश र स्थानीय सरकारको गरेको कार्यसम्पादन मूल्यांकनमा उत्कृष्ट र बेरुजु फछ्र्यौट गर्ने विषयमा पनि देशकै सर्वोत्कृष्ट स्थानीय तह घोषित भएको थियो ।

