मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनमा नेकपा एमालेबाट हेटौंडा उपमहानगरपालिकाका मेयरका उम्मेद्वार अनन्त पौडेलले आहा ! हेटाैडा भन्ने गरी विकास गर्ने बताएका छन् । मगलबार नेकपा एमाले हेटाैडा ७ नम्बर वडा कमिटिले स्थापना गरेको चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयको उद्घाटन गर्दै मेयर पदका उम्मेद्वार पौडेलले उक्त कुरा बताएका हुन् ।
बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलको पहलमा हेटौंडालाई प्रदेशको राजधानी बनाउन सफल भएको दाबी गर्दै फेरिपनि एमालेकै नेतृत्वमा हेटौडाको समग्र क्षेत्रको विकास गरी जिल्लाबासीले नै आहा ! हेटौंडा भन्ने बनाउने बताए । प्रदेशको राजधानी भएर पनि हेटौंडामा राजधानीको लागि आवश्यक पूर्वाधार, फराकिलो सडक, राजमार्गमा आकाशेपुल, ट्राफिक लाईटको व्यवस्था, खेलकुद, खुल्ला स्थान लगायतको क्षेत्रमा काम गर्न बाँकी भएको उनले बताए ।
अबकाे निर्वाचनमा एमालेका सबै उम्मेदवारलाई विजयी गराउन मतदाताहरुमा आग्रह गर्दै पाैडेलले भने एमालेले चुनाव जिते हेटाैडाकाे विकासले राजधानीकाे सुनिश्चितता दिने गरी बाँकी रहेका भाैतिक निर्माणकाे कार्यले समेत पूर्णता पाउने छ । ‘एमाले सुखी नेपाली समृद्ध नेपालको नारालाई लक्ष्य बनाई अघि बढेको छ’ उनले भने– ‘हेटौंडाको समग्र क्षेत्रलाई विकास गरी साँच्चै नै हेटौंडालाई प्रदेशको राजधानी बनाउने प्रतिवद्धता व्यक्त गर्दछाैं ।
यसैगरी उपमेयर पदका उम्मेद्वार सुमित्रा काफ्लेले हेटौंडा उपमहानगरपालिका लगायत सबै वडाहरुमा एमालेको आफ्नो बर्चश्व कायम राख्न जरुरी रहेको बताइन् । अघिल्लो स्थानीय तहको निर्वाचनपछि एमालेले जितेको सबै वडाहरुमा अन्य पार्टीको तुलनामा अत्याधिक विकासका काम भएको दावी गर्दै उनले विकास र एमाले एकअर्कामा पुरक रहेको समेत बताइन् ।
यस्तै हेटौंडा उपमहानगरपालिका वडा नम्बर ७ वडा अध्यक्षपदका उम्मेद्वार राजन थापाले आफ्नो नेतृत्वमा विगत पाँच वर्षमा वडामा जनताले महशुस गर्नेगरी काम भएको बताए । अघिल्लो कार्यकालमा कर्राखोलामा पक्की पुल निर्माणको लागि आवश्यक स्थान र बजेट पहिचान भएकोले आगामी कार्यकालमा पक्की पुल निर्माण गरिने बताए ।
यस्तै कार्यक्रममा नेपाली काँग्रेस, राप्रपा लगाएतका विभिन्न् पार्टीपरित्याग गरि एमालेमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई मेयर, उपमेयरका उम्मेद्वार, वडा अध्यक्षका उम्मेद्वारले टिका र खादा लगाएर पार्टी प्रवेश गराएका हुन् ।
नेकपा एमाले ७ नम्बर वडा कमिटिका अध्यक्ष कुल प्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा एमाले जिल्ला सचिवालय सदस्य तथा पार्टी प्रचार विभाग प्रमुख ध्रुव चौलागाई, जिल्ला सदस्य सुबोध रिमाल, वडासदस्यका उम्मेद्वारहरु देवराज रिमाल, नरबहादुर भ्लोन, तुलसा अधिकारी, सपना बि.क लगायत पार्टीका नेता कार्यकर्ता तथा वडाबासीको उपस्थिती रहेको थियो ।

