मकवानपुर । नेपाली कांग्रेसले हेटौँडा उपमहानगरपालिकाको प्रमुख (मेयर) नपाए गठवन्धनबाट बाहिरिने चेतावनी दिएको छ । नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिका समितिले बुधबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि हेटौँडा उपमहानगरपालिकाको मेयर आफुहरुले नपाए एक्लै मेयर र उपमेयर सहित निर्वाचनमा जाने जनाएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिकाका सभापति उत्सव इटेनीले आफूहरुले हेटौँडामा कांग्रेसको अवस्था र कार्यकर्ताको भावनाको विषयमा जिल्ला, प्रदेश र केन्द्रीय नेतृत्वलाई समेत जानकारी गराईसकेको अवस्थामा हेटौँडा एकिकृत समाजवादीको भागमा परेको जानकारी आएको भन्दै उक्त निर्णय पुनारवोलकन नभए एक्लै निर्वाचनमा होमिने बताए ।
उनले भने ‘हामीलाई हेटौँडाको मेयर समाजवादीको भागमा परेको भन्ने जानकारी आएको छ, कार्यकर्ताको भावना अनुसार उक्त निर्णय पुनारावलोकन भएन भने बैशाख ६ गते हेटौँडामा बसेको १९ वटै वडा सभापति सहित नगर पदाधिकारीको बैठकले गरेको निर्णय अनुसार गठवन्धनबाट बाहिरिने र एक्लै निर्वाचन लड्ने छौ ।’
आम कांग्रेस कार्यकर्ताको मनोभावनामा ठेस पुग्नेगरि भएको सहमतिलाई पुनारवलोकन गर्दै हेटौँडाको मेयर कांग्रेसलाई दिने सहमति गर्न समेत इटेनीले विज्ञप्तिमा अनुरोध गरेका छन् ।

