आगामी ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि सत्तारूढ गठबन्धन आबद्ध चार दलबीच ६ महानगरपालिकामा तालमेल सहमति भए पनि उपमहानगरमा किचलो बढेको छ । पोखरा महानगरमा नेपाली कांग्रेसले अडान छाडेपछि सत्ताधारी दलबीच ६ महानगरको मेयर पदमा भने मंगलबार दिउँसै भागबण्डा मिलेको थियो ।
ती महानगरमा उपमेयरमासमेत भागबण्डा भइसकेको छ । तर, ११ उपमहानगर मेयर र उपमेयरमा सहमति जुट्न नसकेपछि सत्तारूढ दलले भागबण्डालाई अन्तिम रूप भने दिन सकेनन् । मंगलबार राति १० बजेबाट आज बुधबार बिहान २ बजेसम्म बसेको बैठकमा सहमति हुन नसकेको हो ।
सत्तारूढ दलले बनाएको निर्वाचन अनुगमन तथा परिचालन समिति संयोजक कांग्रेस नेता रामचन्द्र पौडेलले महानगर विषयमा सहमति भए पनि उपमहानगरमा बन्न नसकेको जानकारी दिए । ‘आज बुधबार ११ बजे पुनः बस्ने गरी बैठक सकियो, महानगरका विषयमा सहमति भए पनि उपमहानगरमा कुरा मिलेन,’ समिति संयोजक पौडेलले राजधानीसँग भने ।
६ वटै महानगर र ११ उपमहानगरमा गठबन्धन दलबीच तालमेल सहमतिलाई अन्तिम रूप दिन भन्दै रातारात बैठक बसिएको थियो । मंगलबार राति १० बजेबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको चार घण्टा लामो छलफल बुधबार बिहान २ बजे बिनानिश्कर्ष सकिएको हो ।
गठबन्धन आबद्ध नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपा नेपालबीच ६ महानगरमा भने मेयर पदमा भागबण्डा भइसकेको छ । जसअनुसार ६ मध्ये तीन महानगर काठमाडौं, ललितपुर र विराटनगरको मेयर कांग्रेसले लिने, माओवादीलाई भरतपुर, एकीकृत समाजवादीलाई पोखरा र जसपालाई वीरगन्ज महानगर भाग परेको छ ।
स्रोतका अनुसार काठमाडौं महानगरमा मेयर कांग्रेसले लिँदा उपमेयर नेकपा एसलाई दिने सहमति भएको छ । ललितपुरमा उपमेयर माओवादी केन्द्रको भागमा परेको छ । यसैगरी, विराटनगरमा मेयर कांग्रेसले लिने भएपछि उपमेयर जसपाको भागमा परेको छ ।
भरतपुरमा मेयर माओवादीले लिने र उपमेयरसहित सबै वडाअध्यक्ष कांग्रेसले निलेगरी सहमति गरिएको दाबी गरिएको छ । त्यस्तै, पोखरामा नेकपा एसलाई मेयर दिएर सहमति गरिएपछि कांग्रेसलाई उपमेयर दिइएको छ ।
वीरगन्ज महानगरमा मेयर जसपालाई दिएर उपमेयर कांग्रेसले लिनेगरी सहमति भएको छ । पोखरा महानगर विषयमा कांग्रेसको अडान कायम रहँदा सोमबार गठबन्धनबीच सहमति जुटेको थिएन । तर, प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले मंगलबार पोखरा कांग्रेसका नेतालाई मनाएपछि सहमति बनेको हो ।
पोखरा महानगरका कारण गठबन्धन नै टुट्ने अवस्था आएपछि देउवाले मंगलबार दिउँसो पोखराका कांग्रेस नेताहरूलाई काठमाडौं बालुवाटार बोलाएरै गठबन्धनको बाध्यता बुझिदिन आग्रह गरेका थिए । देउवाले बोलाएपछि कास्की कांग्रेसका सभापति किशोरदत्त बराल, गण्डकी प्रदेशका कांग्रेस सभापति शुक्रराज शर्मा र नेता यज्ञबहादुर थापासहितको टोली काठमाडौं आएको थियो ।
गठबन्धनमा आबद्ध दल शनिबारदेखि नै महानगर र उपमहानगर मेयर तथा उपमेयर पदको भागबण्डामा थिए । आइतबार र सोमबार दलबीच प्रमुख पद भागबण्डा’मा घनीभूत छलफल भएको थियो । सोमबार राति नै ६ महानगर विषयमा गठबन्धनमा आबद्ध दल सहमतिनजिक थिए । तर, पोखरा महानगरमा प्रमुख पदमा कांग्रेस र नेकपा एसको अडान जारी रहेपछि सहमति बनेको थिएन ।
मंगलबार प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति देउवाले कास्की कांग्रेस नेताहरूलाई बालुवाटारमै बोलाएर मनाएपछि गठबन्धन आबद्ध दलबीच महानगर भागबण्डामा सहमति भएको हो । २०७४ सालमा सम्पन्न स्थानीय तह निर्वाचनमा कांग्रेसले विराटनगर र ललितपुर महानगरपालिकामा जित हात पारेको थियो ।
वीरगन्ज महानगरमा जसपा, पोखरामा नेकपा एमाले तथा भरतपुरमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।
गठबन्धनबीच ११ उपमहानगरमा मिलेन कुरा
सत्तारूढ गठबन्धन आबद्ध दलले ११ उपमहानगर मेयर तथा उपमेयरमा पनि भागबण्डाको अन्तिम तयारी गरेका थिए । यसका लागि मंगलबार राति १० बजे बैठक बोलाइएको थियो । दिउँसोको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादव सहभागी थिएनन् । रातिको बैठकमा भने उनीसमेत पुगे ।
उनले आफ्नो सहभागीबिना दिउँसो भएको सहमतिा इन्कार गरेपछि थप विवाद भएको हो । गठबन्धन आबद्ध बैठकमा सहभागी एक नेताका अनुसार मंगलबार दिउसो कांग्रेसलाई ७, माओवादी केन्द्रलाई २ र जसपा र नेकपा एकीकृत समाजवादीलाई एक– एक वटाका दरले उपमहानगरपालिका भागवण्डा गरिएको थियो ।
सहमतिअनुसार घोराही र जितपुर सिमरा उपमहानगर मेयर माओवादी केन्द्रको भागमा राखिएको थियो । हेटौंडा उपमहानगरपालिका नेकपा एकीकृत समाजवादीको भागमा राखिने सहमति थियो । तर, जनकपुर र नेपालगन्जमा भने कांग्रेस र जसपाको अडान रहेपछि उपमहानगरमा सहमति जुट्न नसकेको हो ।
दिउँसोको सहमतिअनुसार इटहरी, धरान, कलैया, बुटवल, तुल्सीपुर, नेपालगन्ज र धनगढी मेयर नेपाली कांग्रेसको भागमा परेको थियो । जनकपुर जसपालाई दिने सहमति थियो । राति ती दुई उपमहानगरमै सहमति जुट्न नसकेपछि बैठकबाट नेताहरू उठेका हुन् ।
यसैगरी, उपमेयरतर्फ कांग्रेसले जनकपुर, हेटौंडा, जितपुर सिमरा र घोराही उपमहानगर उपमेयर लिने धरान उपमहानगरपालिका उपमेयर माओवादी केन्द्रलाई दिने सहमति मंगलबार दिउँसो भएको थियो ।
त्यस्तै, एकीकृत समाजवादीले इटहरी, बुटवल र तुल्सीपुरमा उपमेयर लिने तथा जसपाको भागमा कलैया उपमहानगरपालिका उपमेयर दिने सहमति थियो । नेपालगन्ज उपमेयर जसपा र धनगढी उपमेयर माओवादीले राख्ने सहमति थियो । राजधानी दैनिकबाट

