- वासुदेव गुरागाईं
चुनाव आउन पन्ध्र दिन मात्र बाँकी छ । प्रचार प्रसारमा आउनेको भिडभाड छ गाउँमा। जो जाे आउँछन सबै एउटा न एउटा आश्वासन दिएर जान्छन् गाउँले मतदातालाई। पर्चा बॉड्छन् । किताबमा लेखेका, रेडियोले भनेका, टिभीले देखाएका कुरा साँचा हुन्छन भनेर एकछापे दिमाग बनाएका गाउँले तिनका पर्चा पढछन् । भाषण सुन्छन् । त्यस विषयमा मज्जाले छलफल गर्छन । फुर्सद छ अहिले गाउँलेलाई । खेती किसानीको समय छैन । त्यसमाथि बलिष्ठ हात पाखुरा विदेशिएका बेला खेती गर्नेहरू पनि कति नै छन् र गाउँमा ! विदेशिएका लोग्ने, स्वास्नी, छोरा, छोरी, भाइ, भतिज, मामा, भाञ्जा आदिले विदेशबाट सम्प्रेषित गरेका दुःख र कष्टका खबर सुन्नु सुनाउनु बढ्ता नियति बनेको छ अचेल तिनीहरूको।
एउटी उम्मेदवार आइन् र यसरी कडैसँग खोकिन्”आदरणीय आमाबुबा, दाजुभाइ, दिदीबहिनी तथा उपस्थित मेरा प्यारा प्यारा आदरणीय जनसमुदाय, म तपाईंहरूकी छोरी यस निर्वाचन क्षेत्रको उम्मेदवार भएकी छु । मेरा विषयमा तपाईंहरू सबैलाई भलिभाँती थाहा छदै छ । मैले “तपाईहरूका यहाँका समस्या र आवश्यकता राम्राेसँग पहिचान गरेकी छु । मलाई तपाईंहरूको अमूल्य भोटको आवश्यकता छ। तपाईंहरूको भोट अवश्य पाउँछु भन्ने मैले विश्वास लिएकी छु। तसर्थ मैले जितेपछि म गाउँलाई स्विट्जरल्यान्ड बनाइदिन्छु, बुझ्नु भो।”
अर्को उम्मेदवार आयो र म यस वस्तीलाई सिङगापुर बनाइदिन्छु भनेर सन्कियो । अर्कोले युराेप बनाउने कुरा गर्यो। फेरि अर्को आयो र त्यसरी नै अमेरिका बनाइदिने आश्वासन दियो । यही क्रममा कसैले चाइनाकाे चुड्की बजायो । कसैले भारत भट्ट्यायो । कसैले जर्मन भनेर जङ्गियो । यसै गरी कसैले बेलायत भनेर बके, कसैले रुस भनेर रुमल्याए । कसैले फ्रान्सको फाल्तु वकालत गरे त कसैले बेल्जियम, कसैले नेदरल्यान्ड्स, कसैले डेनमार्क भनेर डङ्का पिटे।
चुनाव प्रचार प्रसारको समय सकियो। चुनावको मौन अवधि सुरु भयो। गाउँमा आउने उम्मेदवार र कार्यकर्ताको भिड एकाएक ओइलायो। गाउँलेको कानले शान्ति महसुस गर्यो।
चुनावको दुई दिन अघि गाउँले मतदाताको बैठक बस्यो । गाउँले सबै एकठ्ठ भएर बिर्खेलाई भोट हाल्ने कुरामा सहमत भए । बिर्खेलाई भोट हाल्ने कुरामा गाउँले एक मत हुनुमा एउटै मात्र कारण थियो- उसले नेपाललाई ‘नेपाल’ बनाउने उद्घोष गरेको थियो।
म्हेपी काठमाडौं
फुमन्तर लघुकथाहरुबाट

