मकवानपुर । हेटौंडामा व्यक्तिगत घटना दर्ता र सामाजिक सुरक्षा सम्बन्धी शिविर सुरु भएकाे छ । हेटौंडा उपमहानगरपालिकाको आयोजना र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको समन्वयमा बुधबारबाट हेटौंडामा दर्ता शिविर सञ्चालन गरिएको हाे ।
व्यक्तिगत घटना दर्ता गर्न छुटेकाहरुलाई स्थानीय स्तरबाटनै सेवा लिनका लागि शिविर सुरु गरिएकाे मेयर हरि बहादुर महतले बताए । शिविरको उद्घाटन् गर्दै मेयर महतले व्यक्तिगत घटना दर्ता गर्ने काम सानो देखिएपनि ठुलो प्रभाब पार्ने भएकाले स्थानीय स्तरमानै दिइएको सेवा लिनका लागि आग्रह समेत गरे ।
बुधबार हेटाैडा उपमहानगरपालिकाकाे वडा नं. ५ बाट शिविरकाे सुरुवात गरिएकाे हाे । हेटौंडा–५ को पीप्ले सामुदायिक वन उपभोक्ता समितिको सभाहलमा शिविर भएको हो । हेटौंडाका १९ वटै वडाका ५७ स्थानमा घटना दर्ता शिविर हुनेछ । बुधबारबाट हेटौंडाकाे ६, १७ र १८ मा शिविर सञ्चालन हुने छ ।
व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी दर्ता शिविर सञ्चालन हुने भएको हुँदा वडा कार्यालयको पहुँच बाहिर रहि समयमा सेवा लिन नसकेका तथा सेवा प्राप्त गर्न छुटेका लाभग्राहीहरुले आफुलाई पाएक पर्ने शिविरसम्म आई व्यक्तिगत घटना (जन्म, विवाह, सम्बन्ध विच्छेद, मृत्यु र वसाइसराई) दर्ता तथा सामाजिक सुरक्षा सम्बन्धी दर्ता गराउन उपमहानगरपालिकाका सूचना अधिकारी भानुभक्त थपलियाले आग्रह गरेका छन् ।
प्रत्येक वडामा ३ स्थानमा दर्ता शिविर सञ्चालन हुने छ । नेपाल सरकारको नीति तथा कार्यक्रम अनुसार व्यक्तिगत घटना दर्ता शतप्रतिशत दर्ता गराउने उद्देश्यका साथ हेटौंडाका वडा वडामा गएर घटना दर्ता शिविर सञ्चालन गर्न लागिएको सूचना अधिकारी थपलियाले जानकारी दिए । सरकारले नागरिक पहुँच नपुगेकै कारण सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न छुट भएको भए सोको दर्ता गराउन सहज पहुँच पुर्याउने उद्देश्य अनुरुप स्थानीय तहका प्रत्येक वडाका फरक फरक स्थानमा दर्ता शिविर संचालन गर्न लागिएकाे हाे ।
दर्ता शिविरकाे लागि सरकारले चालू आर्थिक वर्षमा वित्तीय हस्तान्तरण मार्फत स्थानीय तहमा बजेट व्यवस्था गरेकाे छ । घटना दर्ताकार्यको लक्ष्य प्राप्तीको निम्ती सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणाली सुदृढीकरण आयोजना संचालन निर्देशिकाको संसोधन अनुसार काम सुरु गरिएको हो । शिविर संचालन गर्दा दर्ता शत प्रतिशत हुने गरी योजना तयार गरी सोही अनुसार कार्यान्वयन गर्ने तयारी थालिएको उपमहानगरपालिकाका एमआइएस अप्रेटर दिपेन्द्र विश्वकर्माले जानकारी दिए ।
बुधबारकाे शिविर उद्घाटन कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत शिबराज चौलागाई, योजना बजेट, सूचना तथा तथ्याङ्क महासाखाका प्रमुख भीम प्रसाद तिमल्सीना लगायतको आतिथ्यता रहेको थियो ।

