मकवानपुर । सडक दुर्घटना न्युनिकरण नहुनुमा जिम्मेवारी कसको ? भन्ने विषयकाे वक्तृत्वकलामा कुसुम खड्का प्रथम भएकी छिन् । मकवानपुर बाल विद्यासदनकी खड्का रेडियो थाहासञ्चार ९९.६ मेघाहर्ज हेटौंडाको वार्षिकोत्सवको अवसरमा आयोजित माध्यामिक विद्यालयस्तरीय वक्तृत्वकला प्रतियोगितामा प्रथम भएकी हुन् ।
बिन्दाबासिनी मिडिया प्रालिद्वारा सञ्चालित रेडियो थाहासञ्चार सप्ताहव्यापी कार्यक्रमको पाचौं दिन विहीबार माविस्तरीय वक्तृत्वकला प्रतियोगिता भएको हाे । प्रतियोगितामा बालजागृति इंङ्गगलिस स्कुलकी ऋषिका श्रेष्ठ द्वितीय र आधुनिक राष्ट्रिय माविका कर्ण यादव तृतीय भएका छन । निबन्ध प्रतियाेगितामा प्रथम, द्वितीय र तृतीय हुनेलाई क्रमश ५ हजार , ३ हजार र २ हजार नगद पुरस्कार र प्रमाण पत्र प्रदान गरिएको छ ।
प्रतियाेगिताकाे निर्णायक प्राध्यापक ह्याग्रिव आचार्य, प्रहरी सहायक निरीक्षक श्री प्रसाद थापा, नाराणी संघ हेटौंडाका कार्यालय प्रमुख समुन्द्रराज खड्का रहेका थिए । कार्यक्रममा मकवानपुर प्रहरी प्रमुख सुरेन्द्र ब. गुरुङको प्रमुख आतिथ्यता रहेको थियो भने नारायणी संघका प्रवन्धक सरोज खनाल ,गैरसरकारी संस्था महासंघ मकवानपुरका उपाध्यक्ष रमिला सापकोटा ,जिल्ला अविभावक संघ मकवानपुरका अध्यक्ष ध्रुव चौलागाई लगायतको आतिथ्यता रहेको थियो ।

रेडियोले हरेक वर्ष आफ्नो बार्षिकोत्सबमा वक्तृत्वकला प्रतियोगिता आयोजना गर्दै आएको छ । रेडियाेकाे बार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमको छैटौं दिन फागुन ६ गते कोरोना रोकथाम तथा नियन्त्रणमा सरोकारवालाहरुको भूमिका विषयक अन्तरक्रिया हुनेछ । अन्तिम दिन ७ गते थाहा सम्मान तथा १४ औ वार्षिकोत्सव समापन समारोह र साहित्य सम्मेलन हुने रेडियोका स्टेसन म्यानेजर मणीराज गौतमले जानकारी दिए ।
बार्षिकोत्सव सप्ताहव्यापी कार्यक्रमको पहिलो दिन फागुन १ गते आईतबार पर्यावरण प्रवर्द्धनकाे लागि रेडियोले साइकल र्याली गरेको थियो । दोस्रो दिन फागुन २ गते सोमबार रेडियोले बृहत रक्तदान कार्यक्रम आयाेजना गरेकाे छ । यस्तै तेस्रो दिन मंगलबार रुपचन्द्र विष्ट र अहिलेको राजनीतिक परिवेश विषयक अन्तरक्रिया कार्यक्रम र चौथो दिन हिजो बुधबार दुग्ध उत्पादन क्षेत्रको अवसर र चुनौती विषयक सरोकारवाला बिचमा अन्तरक्रिया कार्यक्रम गरिएको थियो ।

