मकवानपुर/वाग्मती प्रदेश सभाअन्तर्गत् सोमबार दुईवटा समितिको सभापति छनौटमा दुबैजना नेकपा एमालेबाट बिजयी भएका छन् ।
प्रदेश सभा अन्तर्गत् रहेका अर्थ तथा विकास समिति र शिक्षा, स्वास्थ्य तथा कृषि समिति सभापति छनौट प्रक्रियामा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले मात्र सहभागी भएपछि दुबै सभापतिमा एमाले विजयी भएको हो ।
एमालेले अर्थ समिति सभापतिमा काठमाडौंका नारायणबहादुर सिलवाल र शिक्षा समितिमा काठमाडौं कै केशवप्रसाद पोखरेललाई अगाडि बढाएको थियो । एमालेको बहुमत रहेका कारण सत्तारुढ गठबन्धनले उम्मेदवार नै दर्ता गराएन भने निर्वाचन प्रक्रियामा पनि सहभागी भएन । अर्थ र शिक्षा समितिको बैठकमा नेकपा एमालेको १२ जना सांसदको मात्र उपस्थिति भएपछि उम्मेदवारहरुलाई विजयी घोषणा गरिएको थियो । उनीहरुको सपथ ग्रहण समेत भइसकेको छ ।
अर्थसमितिमा २० जना सदस्यमध्ये एकजना सभापति चयन भएको हो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका १९ जना सदस्यमध्ये एकजना सभापति चयन भएको हो ।
अर्थ समितिका तत्कालिन सभापति सरेश नेपाल प्रदेश सरकारको मन्त्री भएसँगै उक्त पद रिक्त रहेको थियो । शिक्षा, स्वास्थ्य तथा कृषि समितिका सभापति घनश्याम दाहाल राजेन्द्रप्रसाद पाण्डे नेतृत्वको सरकारमा मन्त्री नियुक्त भएसँगै उक्त पद पनि रिक्त रहेको प्रदेश सभाका सचिव कृष्णहरि खड्काले बताए ।

