मकवानपुर । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले सत्तारुढ गठबन्धन दल चुनावबाट भाग्न खाेजेकाे बताएका छन् । सरकारले स्थानीय तहको निर्वाचन सार्ने खेलमा लागे मुलुकले थेग्नै नसक्ने आन्दोलन हुने चेतावनी दिएका छन् । प्रेस चौतारी नेपाल मकवानपुरले विहीबार हेटौंडामा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बस्नेतले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकार निर्वाचन सार्ने दाउ हेरिरहेको भन्दै नेकपा एमालेका जनवर्गीय संगठनले त्यसको सशक्त प्रतिकार गर्ने बताए ।
सत्तागठबन्धन दलले स्थानीय तह प्रदेश संघीय तीनै तहको चुनाब एकै पटक गर्ने गरी भनाइहरु सार्वजनिक भइरहेकाेमा बस्नेतले उक्त भनाइ कुनै तर्क नभइ कुतर्क रहेको बताएका छन् । नेता बस्नेतले संविधान अनुसार स्थानीय तहको मिति तत्काल घोषणा गर्न समेत माग गरेका छन् । एमाले पाँच दलिय गठबन्धनसँग एक्लै चुनाव लड्न तयार रहेको रहेको समेत उनले दाबी गरे ।
नेता बस्नेतले पाँच दलिय गठबन्धनको रुपमा रहेको वर्तमान सरकारको काम नेकपा एमालेलाई कमजोर बनाउने षड्यन्त्रमै केन्द्रीत भइरहेको समेत आरोप लगाएका छन् । स्वास्थ्यमन्त्री बिरोध खतिवडालाई आफ्नो मन्त्रालयको के काम हो भनेर थाहा नभएको अरुकाे बिरोध गर्नमै व्यस्त रहेको उनले आरोप लगाएका छन् । सरकारका मन्त्रीहरु मन्त्रालयको काम कारवाहीमा केन्द्रित हुन नसकेको उनले बताए ।
पत्रकार सम्मेलनमा युवा संघ नेपालका केन्द्रीय अध्यक्ष किरण पौडेलले चरणवद्धरुपमा वर्तमान सरकार विरुद्ध आन्दोलन गर्ने बताए । पाैडेलले सरकार गलत बाटोमा अगाडि बढेका कारण सरकारविरुद्ध युवासंघ संघर्षमा उत्रिन बाध्य भएको बताए । पौडेलले अहिलेको सरकारले स्थानीय तह जनप्रतिनिधि बिहीन बनाउन लागेको आरोप लगाए ।
प्रेस चौतारी मकवानपुर अध्यक्ष बालकृष्ण अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले बागमती प्रदेशका उपसचिव महेश बतौला, नेकपा एमाले मकवानपुरका अध्यक्ष एकलाल श्रेष्ठ ,युवा संघ केन्दिय आर्थिक विभाग प्रमुख सन्तोष चौलगाई लगायतको उपस्थिती थियो ।

