मकवानपुर । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा २ सय ५९ औं विजय उत्सव मनाईएको छ ।
२ सय ५९ वर्ष अघि माघ १० गतेका दिन गोरखा सेना र विदेशीबीच भएको युद्धमा गोरखा सैनिकले पहिलो पटक विदेशी सेना अर्थात मुगल सेनालाई पराजित गरेको थियो । सोहि दिनको स्मरणमा हरेक वर्षको माघ १० गते मनाउँदै आईएको विजय उत्सव यस वर्ष भने कोभिड १९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै सामान्य ढङ्गले मनाईएको छ ।
एतिहासिक मकवानपुरगढी विजय उत्सव मूल समारो समिति मकवानपुरगढीको आयोजनामा भएको विजयी उत्सव कार्यक्रममा मकवानपुर क्षेत्र नंबर १ का सांसद कृष्णप्रसाद दाहालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा गढी दरबार परिसरमा नेपाली सेनाले निर्माण गरेको मकवानपुरगढी र नेपाली सेना सम्बन्ध अङ्कित शिलालेख बोर्ड तथा दरबार परिसरमा झन्डोत्तोलन गरिएको थियो ।
गाउँपालिकाका अध्यक्ष बिदुर हुमागाईंको अध्यक्षतामा भएको विजय उत्सव कार्यक्रममा नेपाली सेनाका २८ नंबर गणका प्रमुख सेनानी भाइकाजी थापा,पुरानो गोरख गणका गुणराज अधिकारी,गाउँपालिकाको उपाध्यक्ष हर्कमाया रुम्बा,गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनि,वडा अध्यक्षहरु,सदस्यहरु,कार्यपालिका सदस्यहरु,राजनीतिक दलका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

मुगल सेनाका फौज पराजित भएपछि उत्साहित बनेका पृथ्वीनारायण उत्सवमा सहभागी हुन मकवानपुरगढी पुगेका थिए । सेनवंशीय मकवानपुरका अन्तिम राजा दिग्वन्धन सेन मकवानपुरगढी अन्तर्गत रहेको हरिहरपुर गढीको लडाइ हारेपछि बंगालका नवाब मीर कासिम अलीसँग सहयोग माग्न पुगेका थिए । नबाव अलीको सहयोगमा २ हजार लडाकु र १ हजार बन्दोबस्तीसहित ३ हजार फौज लिएर गोर्खा नियन्त्रणमा रहेको मकवानपुरगढीमा बिक्रम सम्वत १८१९ माघ १० गते आक्रमण गरिएको थियो ।
उक्त लडाईमा मुगलका करिब सत्र सय फौज र गोर्खाली फौज तर्फ करिब ३० जनाको मृत्यु भएको थियो । उक्त युद्धमा गौर्खाली सेनाले ५ सय भन्दा बढी आधुनिक हातहतियार र शक्तिशाली तोप २ थान हात पारेको थियो ।
मकवानपुरगढीमा रहेको नन्दु शाहको नेतृत्वको फौज र पृथ्वीनारायण शाहले दहचोकबाट पठाएको वंशीराज पाण्डेको फौजसँग माघ १० गते मीर कासिमका सेना पराजित भएकाले सोही दिन जीत हासिल गरिएकोले विजय उत्सव मनाउने गरिएको हो ।

