मकवानपुर । मकवानपुर जिल्लामा काेराेना भाइरस संक्रमण तीव्र रुपमा फैलिएकाे र सरकारी कार्यालयमा काम गर्ने कर्माचारीलाई समेत काेराेना संक्रमण पुष्टि हुने क्रम बढे पछी सरकारी कार्यालयले प्रवाह गर्ने सेवा प्रवाहमा कटाैती गरेका छन् । मकवानपुर जिल्ला अदालत र जिल्ला प्रशासन कार्यालय मकवनापुरले सेवा प्रवाह कटाैती गरेकाे जनाएकाे छ ।
कोरोनाकाे कारण असहज परिस्थिति उत्पन्न भएको भन्दै मकवानपुर जिल्ला अदालतले नियमित सेवा प्रवाहमा कटौती गरेको छ । जिल्ला अदालतका निमित्त श्रेस्तेदार अमृत घिमिरेले बिहीबार एक सूचना जारी गर्दै अदालतका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएकोले माघ ९ गतेदेखि १४ गतेसम्मको सेवाप्रवाह कटौती गरिएको जानकारी दिएका छन् ।
अदालतको बिहीबार बसेको पूर्ण बैठकबाट माघ ९ गतेदेखि १४ गतेसम्म पक्राउ पुर्जी अनुमती, जरुरी पक्राउ पुर्जीको समर्थन र कल डिटेल अनुमती दिने कार्यहरु, पक्राउ परेका व्यक्तिहरुलाई हिरासतमा राख्ने अनुमती (म्याद थप) गर्ने कार्य, अभियोग पत्र दर्ता गर्ने, उपस्थित प्रतिवादीको बयान लिने र थुनछेक गर्ने कार्य हुने जनाएको छ ।
यसैगरी मुद्दा मिलापत्र, फिर्ता र डिसमिस सम्बन्धी कार्य, मुलुकी फौजदारी कार्यबिधी संहिता २०७४ को दफा १५५ अनुसारको निवेदन तथा बाल सुधार गृहमा रहेका बालबालिका जिम्मा लिन पाउँ भन्ने निवेदनका कार्यमा मात्र अदालतको कामकारवाही हुने पनि सूचनामा उल्लेख गरिएको छ । सेवा संकुचन गरिएको अवधीमा रोकिएको तारेख, हदम्याद, म्याद समेतको हकमा प्रचलित कानून बमोजिमका सेवा प्राप्त हुने समेत बताइएकाे छ ।
यसैगरी कर्मचारीहरु समेत कोरोना संक्रमण भएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले माघ ९ गतेबाट माघ १४ गतेसम्म कार्यालयबाट प्रवाह हुने अत्यावश्यक बाहेकका सवै सेवा बन्द गर्ने जनाएको छ ।
जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी वद्रीनाथ गैह्रेले विज्ञप्ति जारी गर्दै नयाँ नागरिकता, नागरिकता प्रतिलिपि, संघसंस्था, नाबालक परिचय पत्र, राष्ट्रिय परिचयपत्र सेवा स्थगित गरिएको जानकारी दिएका हुन् । कर्मचारीहरुमा कोरोना संक्रमण भएको र उनीहरु उपचार तथा आइसोलेसनमा बस्नुपर्ने भएको जानकारी दिँदै सेवा बन्द गरिएको हो । कार्यलयबाट प्रवाह हुने शान्ति सुरक्षा, विपद्, मुद्धा, राहदानी सम्बन्धी अत्यावश्यक सेवा नियमित रहने कार्यलयले जनाएको छ ।


