मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले मन्त्रिपरिषद् चाैथाे पटक विस्तार गरेका छन् । उनले पुष ९ गते शुक्रबार नेपाली कांग्रेसबाट ३ जना मन्त्री र ३ जना राज्यमन्त्री नियुक्त गरी चाैथाे पटक मन्त्रिपरिषद् विस्तार गरेका हुन् । मुख्यमन्त्री राजेन्द्र पाण्डेले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम ३ मन्त्री र ३ राज्यमन्त्री नियुक्त गरेका हुन् ।
नेपाली काँग्रेसबाट मन्त्री हुनेहरुमा दीपेन्द्र श्रेष्ठ संस्कृतिमन्त्री, बलराम पौडेल भूमिव्यवस्था र मिलनबाबु श्रेष्ठ उद्योगमन्त्री भएका छन् । यसैगरी सन्तबहादुर प्रजा भौतिक पूर्वधार राज्यमन्त्री, रजनी अमात्य जोन्छे उद्योग र कल्पना नेपाली स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका छन् । याे सँगै बागमती प्रदेश मन्त्रिपरिषद् १८ सदस्यीय भएका छन् ।
बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित १४ वटै मन्त्रालयले फुल मन्त्री पाएको छ । नवनियुक्त मन्त्री र राज्यमन्त्रीहरुको आजै सपथ हुने मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
यसअघि राजेन्द्र पाण्डे मुख्यमन्त्री हुँदा कांग्रेस संसदीय दलका उपनेता कृष्णलाल भँडेल भौतिक पूर्वाधार, माओवादी संसदीय दलका उपनेता कुमारी मोक्तान सामाजिक विकास, एकीकृत समाजवादी संसदीय दलका उपनेता कृष्णप्रसाद शर्मा खनाल आन्तरिक मामिला मन्त्री भएका थिए । यस्तै मुख्यमन्त्री पाण्डेले दोस्रो पटक माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्मकट्टेल आर्थिक मामिला र कांग्रेस सांसद निमा लामाले स्वास्थ्यमन्त्रीमा नियुक्त गरेका थिए ।
त्यसैगरी तेस्रो पटक भएको सरकार विस्तारमा घनश्याम दाहाल श्रम रोजगार तथा यातायातमन्त्री बसन्तकुमार मानन्धर, खानेपानी उर्जा तथा सिंचाईमन्त्री, बसुन्धरा हुँमागाई, कृषि तथा पशुपन्छीमन्त्री, विशाल खड्का वन तथा वातावरणमन्त्री, रत्नप्रसाद ढकाल युवा तथा खेलकुदमन्त्री र इन्द्रमाया गुरुङ कृषि तथा पशुन्छी राज्यमन्त्री नियुक्त भएका थिए ।
बागमतीमा गएको मंसिर १५ गतेको मन्त्रीपरिषद्को निर्णय अनुसार मन्त्रालयकाे संख्या १४ वटा बनाइएकाे थियाे । प्रदेश सरकार गरुठन हुँदा ७ वटा मन्त्रालय रहेकाे बागमती प्रदेशमा निवर्तमान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले सामाजिक विकास मन्त्रालय फुटाएर स्वास्थ्य मन्त्रालय थप गरी मन्त्रालयकाे संख्या ८ मन्त्रालय कायम गरेकी थिइन् ।

