मकवानपुर । नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् । मंगलबार भएको दोस्रो चरणको मतदानमा डा. शेखर कोइरालालाई पराजित गर्दै देउवा दोस्रो कार्यकालका लागि सभापतिमा निर्वाचित भएका हुन् ।
१४ औं महाधिवेशनकाे दोस्रो चरणको मतदानमा ४ हजार ६ सय २३ प्रतिनिधिले मतदान गरेका थिए । देउवाले २ हजार ७ सय ३३ मत ल्याएका छन्। सभापतिमा निर्वाचित हुन बहुमत अर्थात २ हजार ३ सय ११ मत चाहिन्थ्यो । यस्तै शेखर कोइरालाले १ हजार ८ सय ५५ मत पाए भने ३५ मत बदर भएको छ ।
कुल ४ हजार ७ सय ४३ महाधिवेशन प्रतिनिधिमध्ये पहिलो चरणमा ४ हजार ६ सय ६९ जनाले मतदान गरेका थिए । तर सभापतिका ५ उम्मेदवारमध्य कुनै पनि उम्मेदवारले बहुमत ल्याउन सकेनन् ।
सबभन्दा धेरै मत पाएका देउवाले २ हजार २ सय ५८ र शेखरले १ हजार ७ सय २ मत पाएका थिए । प्रकाशमान सिंहले ३ सय ७१, विमलेन्द्र निधिले २ सय ५० र कल्याण गुरुङले २२ मत पाएका थिए । दोस्रो चरणको चुनावमा सिंह, निधि र गुरुङले देउवालाई समर्थन गरेका थिए ।
२०७२ मा भएको कांग्रेसको १३औं महाधिवेशनमा पनि देउवाले दोस्रो चरणमा सभापति जितेका थिए । रामचन्द्र पौडेल र कृष्ण सिटौलासँग प्रतिस्पर्धा गरेका उनलाई पहिलो चरणमा ८ मत पुगेको थिएन् । दोस्रो चरणमा सिटौलाको साथ पाएपछि पौडेललाई हराएर कांग्रेसको सभापति चुनिएका थिए ।
१४ औं महाधिवेशनमा पनि उनले दोस्रो चरणमा आफूसँग प्रतिस्पर्धा गरेका ३ उम्मेदवारको साथ पाए । प्रकाशमान सिंह, विमलेन्द्र निधि र कल्याण गुरुङले समर्थन गर्नासाथ देउवाको जित सुनिश्चित जस्तै बनेको थियो ।
कांग्रेसमा यसपटक नेतृत्व परिवर्तनको मुद्दा उठे पनि त्यसो हुन सकेन । संस्थानपन इतर समूह पहिलो चरणमा तितरबितर हुँदा र दोस्रो चरणमा शेखरबाहेकका अरु नेता देउवातिर उभिंदा दोस्रो चरणमा देउवाको सहज जित भएको हो ।

