मकवानपुर । नेकपा एमालेको दसौँ राष्ट्रिय महाधिवेशनको अध्यक्ष केपी शर्मा ओली उद्घाटन गरेको छन् । अध्यक्ष ओलीले पार्टीको झण्डा, चुनाव चिह्न र राष्ट्रिय झण्डा झण्डोत्तोलन गरेर आज महाधिवेशनको उद्घाटन गरेका हुन्।
चितवनस्थित नारायणी नदी किनारमा महाधिवेशन आजदेखि सुरु भएको छ । एमाले महाधिवेशनमा सहभागी हुन प्रधानमन्त्री शेरबहादुर देउवा कार्यक्रमस्थल पुगेका छन्।
यस्तै नेकपा माओवादी केन्दका नेता लिलामणि पोखरेल, राष्ट्रिय प्रजातन्त्र पाटीका अध्यक्ष कमल थापा, जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादव लगायत शीर्ष ने ताहरुको उपस्थिती छ । यस्तै भारत, बंगलादेश लगायतका विभिन्न देशहरुबाट नेताहरु सहभागी छन् ।
यसै बीच नेकपा एमालेका सचिव प्रदीप ज्ञवालीले १२ महिनापछि नेकपा एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गरेका छन् । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन सत्रमा सो पार्टीका अध्यक्ष केपी शर्मा ओलीले झन्डोत्तोलन गर्ने क्रममा उद्घोषकको भूमिका निर्वाह गर्दै ज्ञवालीले यस्तो बताएका हुन् । ओलीले झन्डोत्तोलन गरेका झण्डातर्फ औंल्याउँदै ज्ञवालीले जसरी एमालेको झण्डा र यसको चुनाव चिह्न अंकित झण्डा माथि पुगेर फहराइरहेको छ, त्यसरी नै अबको १२ वर्षपछि एमालेले देशको नेतृत्व गर्ने दाबी गरे ।
विभिन्न दलका नेताहरुले दिए शुभकामना
यसै गरी एमालेकाे महाधिवेशनकाे उद्घाटनसत्रमा राप्रपा अध्यक्ष कमल थापाले एमाले अध्यक्ष केपी शर्मा ओलीको खुलेर प्रशंसा गरेका छन् । उद्घाटन सत्रमा शुभकामना मन्तव्य दिँदै थापाले ओलीको पहलमा नेपालको राष्ट्रियता अघि बढेको बताउँदै तराईको पृथकतावादी शक्तिलाई अन्त्य गरेको र नेपालको गुमेको भूभागसहितको चुच्चे नक्सा प्रकाशन गरी संविधानमा उल्लेख गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरे ।
यस्तै लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुरले मधेसका माग पूरा गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाह गरेको भूमिका प्रशंसा गरेका छन् । महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्दै ठाकुरले ओलीको प्रधानमन्त्रीत्वकालमा आफूहरुले उठाएका संविधान संशोधन, राजबन्दी रिहा लगायत केही माग पूरा भएको र केही माग अझै पूरा हुन बाँकी रहेको बताए ।
यसैबीच राष्ट्रिय जनमोर्चा पार्टीका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा गणतन्त्र धर्मनिरपेक्षता ल्याएको बताउँदै जसरी देश अगाडि बढ्नुपर्थ्यो त्यो नभएको बताए । उनले भने–‘हामीले नेपालमा गणतन्त्र ल्यायौँ, धर्मनिरपेक्षता स्थापना ग¥यौँ, हामी पटक पटक चुनावमा पनि गयौँ । अहिले मुलुक जसरी अगाडि बढ्नुपर्ने थियो त्यसरी गइरहेको छैन । संसद् अस्तव्यस्त छ । ’
‘कार्यपालिका भित्र पनि राम्रो वातावरण छैन । न्यायपालिका भित्र पनि राम्रो स्थिति छैन निराशा छ । राजनीतिक पार्टीहरू एउटाले अर्कोलाई दोष लगाइरहेका छौँ । यो हाम्रो कारणले भएको हो भनेर हामी राजनीतिक पार्टीहरूले जिम्मा लिन सक्नुपर्छ’ उनले भने । उनले एमाले महाधिवेशनले राष्ट्रियता, देश, र जनताको स्वार्थको लागि उपलब्धी मूलकताकाे कामना गरे ।
यसै गरी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जारी एमाले महाधिवेशन देश र जनताको सफल होस भन्ने कामना गरेका छन् । शुभकामना दिँदै अध्यक्ष यादवले लोकतान्त्रिक र संवैधानिक संस्थाहरू निष्क्रिय भएकोले यसलाई प्रभावकारी बनाउन अब ढिलो गर्न नहुने बताए ।
‘अहिले एकातिर नेपालको विविधतालाई एकतामा र एकतालाई विविधतामा कस्ने समावेशी र लोकतान्त्रिक संविधानको अभावले शान्ति संघीयता सुशासन आर्थिक समृद्धिहरू टाढिँदै गएको छ’ नेता यादवले भने– ‘अहिलेको राजनीतिक अवस्थालाई सुधार गर्ने विषयमा एमाले महाधिवेशन सफल होस कामना छ ।’
यसैबीच नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले शुक्रबार चितवनमा नेकपा एमालेको १० औँ महाधिवेशनको उद्घाटन सत्रमा पार्टीका तर्फबाट शुभकामना व्यक्त गर्दै राष्ट्रिय स्वाधीनता र देशको विकासका लागि सबैको सहकार्यको आवश्यकता रहेकाे बताए ।‘समाजमा अन्तर्विरोध स्थिर हुँदैनन्, सामाजिक परिवेश बदलिरहन्छन्, यो नियम मार्क्सवादीले मात्र विश्लेषण गर्न सक्छन्,’ उनले भने ।
एकता, सङ्घर्ष र सहकार्य संस्कृतिको साझा प्रयासमा सबै रहने हो भने मुलुकको विकासले कोल्टे फेर्ने उनले बताए । राष्ट्रिय स्वाधीनता र विकासमा सहकार्यको खाँचो औँल्याउँदै उनले आज नयाँ चुनौतीको सामना गर्दै नयाँ सम्भावना बोकिरहेको अवस्थामा कम्युनिस्ट आन्दोलन रहेको बताए ।
प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनलाई सम्बाेधन गर्दै राजनैतिक विमतिलाई संविधानमार्फत निर्धारित विधिबाट टुङ्ग्याउनुपर्ने बताए । उनले भने – ‘नेकपा एमालेलाई उक्त मान्यतामा प्रतिबद्ध हुन आह्वान गरेका छन् ।
नेकपा एमालेको दसौँ महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सबै मिलेर संविधानसभाबाट जारी नयाँ संविधानलाई संस्थागत गर्दै बलियो बनाउने जिम्मेवारी सबै राजनीतिक दलको रहेको प्रस्ट पारे ।
उनले भने, ‘लोकतान्त्रिक मूल्यलाई जीवनपद्धति बनाउने, देश र जनताको हितलाई रक्षा गर्न सबै पार्टीको एउटै लक्ष्य हुनुपर्छ ।’ ‘हामी हरेक समस्याको समाधान संविधानमार्फत निकाल्न चाहन्छौँ ।’ लोकतान्त्रिक संसदीय पद्धतिको मर्मअनुसार महाधिवेशन आयोजना गर्न लागेकोमा उनले एमाले र यसको नेतृत्वलाई बधाई तथा शुभकामना दिएका छन् ।


