मकवानपुर । नेकपा मकवानपुरले साेमबार कार्तिक ६ गतेबाट आठौँ पार्टी पुनर्गठन दिवस ३ दिन मनाउँदै छ । नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपा मकवानपुरले ३ दिन विभिन्न कार्यक्रम गरेर पार्टी पुनर्गठन दिवस मनाउने भएकाे हाे । पार्टीले दिवसको अवसरमा पहिलो दिन मोटरसाईकल र्याली गरेको छ ।
हेटौंडा चौकिटोल स्थित पार्टी कार्यलयबाट सुरु भएको र्याली बुद्धचोक हुँदै राप्तीरोड,बसपार्कबाट सिमाचोक,फेरेष्टी,औद्योगीक क्षेत्र,कमानेबाट क्याम्पाडाँडा निस्किएर सिमाचोक आई कोणसभामा परिणत भएको थियो । पुनर्गठन दिवसको कार्यक्रम अन्तर्गत कार्तिक ७ गते मंगलबार दोस्रो दिन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी)ले मकवानपुर बहुमुखी क्याम्पसमा वक्तृत्वकला कार्यक्रम गर्ने विद्यार्थी संगठनका जिल्ला उपाध्यक्ष ललित घलानले जानकारी दिए ।
यसैगरि घलानका अनुसार पार्टीको युवा संगठनले भोलिनै हेटौंडाको हुप्राचौरमा जिल्ला स्तरीय फुटबल प्रतियोगिता गर्ने छ । यसैगरि जिल्लाको विभिन्न पालिकाहरुमा पालिका स्तरीय फुटबल प्रतियोगिता आयोजना हुने बताए । पुनर्गठन दिवसको अन्तिम दिन मंसिर ८ गते बिहान चौकिटोल स्थित पार्टी कार्यलयमा शुभकामना आदनप्रदान तथा चियापान र बेलुका बुद्धचोकमा दिप प्रज्वलन गर्ने कार्यक्रम तय भएको उनले बताए ।
विस २०६९ सालमा पुष्पकमल दाहाल नेतृत्वको तत्कालीन नेकपा (एकीकृत माओवादी) बाट विद्रोह गरी मोहन वैद्य ‘किरण’ नेतृत्वमा नेकपा-माओवादी गठन भएको थियो । दुई वर्षपछि २०७१ साल मंसिर ८ गते विप्लवको नेतृत्वमा नेकपा पुनर्गठन भएको थियो । उक्त दिनलाई नेकपाले पार्टी पुनर्गठन दिवसका रूपमा मनाउँदै आएको छ ।

