मकवानपुर । नेकपा एकिकृत समाजवादीकाे केन्द्रीय कमिटी ३ सय ३५ सदस्यीय भएकाे छ । नेपाल (एस) ले ३ सय ३५ सदस्यीय केन्द्रीय कमिटी गठन गर्दै केन्द्र, प्रदेश र जिल्लाका नेताहरूको जिम्मेवारी पनि टुंगो लगाएको छ ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले अन्तरपार्टी निर्देशन (अपानी) जारी गर्दै संगठन संरचना निर्माण र नेताहरूको जिम्मेवारी ताेकिएकाे हाे । असोज २८ गते जारी गरिएको अन्तरपार्टी निर्देशनमा केन्द्रीय कमिटी सहित ४२ सदस्यीय स्थायी कमिटी, ९४ सदस्यीय पोलिटब्युरो, ११ सदस्यीय केन्द्रीय सचिवालय गठन भएको उल्लेख छ ।
पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई ‘सम्मानित नेता’ भन्दै विदेश विभाग प्रमुखको जिम्मेवारी पनि दिइएको छ । मुकुन्द न्यौपाने र प्रदीप नेपाललाई नेताको हैसियत दिइएको छ । न्यौपानेलाई उद्योग, वाणिज्य विभाग प्रमुख तथा उद्योग व्यवसाय फाँट इन्चार्जको जिम्मेवारी दिइएको छ भने नेपाललाई प्रतिष्ठानहरूको इन्चार्ज बनाइएको छ । जीवनराम श्रेष्ठलाई संघीय संसदीय विभाग प्रमुखको जिम्मेवारी दिइएको छ ।
नेकपा (एस)बाट संघीय सरकारमा मन्त्री रहेका विरोध खतिवडा, रामकुमारी झाँक्री, प्रेम आले, कृष्णकुमार श्रेष्ठलाई पार्टीको जिम्मेवारी दिइएको छैन । अध्यक्ष नेपालले ‘एक वडा एक सय संगठित सदस्य र एक हजार पार्टी सदस्य’ निर्माण गर्ने अभियान सञ्चालन गर्न पनि निर्देशन दिएका छन् ।

