मकवानपुर । प्रधानमन्त्री शेर बहादुर देउवाले प्रधानमन्त्री भएकाे करिब ३ महीनापछि मन्त्रिपरिषद् विस्तार गरेका छन् । सत्ता साझेदार दलहरुसँगकाे सहमति पछी शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिशमा मन्त्रिपरिषद् विस्तार गरेकी हुन्।
नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले शुक्रबार साँझ पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा शुक्रबार साझँ आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन्। त्यस्तै, राज्यमन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देउवाले शपथ गराएका छन्।
नवगठित मन्त्रिपरिषद्मा ११ जना नयाँ अनुहार आएका छन्। २९ असारमा गठन भएको देउवा नेतृत्वको सरकार आज चौथो पटक विस्तार भएको हो। सरकार गठन भएकै दिन कांग्रेस र माओवादी केन्द्रका तर्फबाट दुई/दुई जना मन्त्री भएका थिए। स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ र पछिल्लो पटक परराष्ट्र मन्त्रीमा नारायण खड्कालाई नियुक्त गरिएको थियो।
मन्त्रिपरिषद्मा कांग्रेसका तर्फबाट एक राज्यमन्त्री सहित नौ, माओवादीका तर्फबाट एक राज्यमन्त्री सहित ६, एकीकृत समाजवादीका तर्फबाट एक राज्यमन्त्री सहित पाँच र जनता समाजवादीका तर्फबाट चार मन्त्री छन्। नवगठित मन्त्रिपरिषद्मा ६ जना महिला छन्।
समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, संवैधानिक अङ्गका प्रमुख, मुख्यसचिव, प्रधान सेनापति लगायत शीर्ष नेता उपस्थित थिए।
पाँच दलीय गठबन्धनमा रहेको राष्ट्रिय जनमोर्चाले भने सरकारमा सहभागी नभई समर्थन गर्ने भएको छ।

