मकवानपुर । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी मकवानपुरद्वारा जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिएकाे छ । सरकारसँग गरिएकाे ३ बुँदे सहमति कार्यान्वयनमा ढिलाइ गरेको भन्दै विप्लवले नेतृत्व गरेको कम्युनिस्ट पार्टी मकवानपुरले सोमबार प्रशासन कार्यालय अगाडी धर्ना दिएको हाे ।
३ बुँदे सहमति कार्यान्वयन गर्ने सन्दर्भमा सरकारलाई पटक पटक ध्यानाकर्षण गराउँदा समेत कार्यान्वयन नभएकाेले धर्नामा बस्नुपरेको पार्टी केन्द्रिय सदस्य तथा जिल्ला ईन्चार्ज इन्द्र बहादुर परियार (नयन) ले बताए ।
केपी ओली नेतृत्वको सरकारसँग २०७७ साल फागुन २१ गते ३ बुँदे सहमति गरेर विप्लव शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेका थिए । तर सहमतिको ७ महिना बित्न लाग्दा पनि सहमति कार्यान्वयनमा कुनै प्रगति हुन नसकेपछि उनिहरु असन्तुष्टि व्यक्त गर्दै आएका छन् ।
केपी ओली नेतृत्वको सरकार रहुन्जेलसम्म पनि विविध बहाना बनाएर माग पूरा नभएको र देउवा सरकार बनेको ३ महिना हुन लाग्दा पनि केही प्रगति नभएपछि साेमबार त्यसको विरोध स्वस्प देशभरका जिल्ला प्रशासन कार्यालय आगाडी धर्ना गर्ने कार्यक्रम अन्तरर्गत मकवानपुरमा पनि धर्ना दिइएकाे बताइएकाे छ ।

