मकवानपुर । थाहा नगरपालिकाका सूचना अधिकारी सुरजकुमार भुजेल सम्मानित भएका छन् । राष्ट्रिय सूचना आयोगले सूचनामा सर्वव्यापी पहुँचसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको अवसरमा थाहा नगरपालिका मकवानपुरका सूचना अधिकारी भुजेल सम्मानित गरेकाे हाे ।
मंगलबार भएको राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना तथा आयोगका अध्यक्ष महेन्द्रमान गुरुङले भुजेललाई सम्मान गरेका हुन् ।
थाहानगरका भुजेलसंगै उत्कृष्ट कार्यसम्पादन गर्ने मुस्लिम आयोगका सूचना अधिकारी दयाराम तिवारी, जिल्ला हुलाक कार्यालय ताप्लेजुङका राजेश चौधरी र जिल्ला हुलाक कार्यालय खोटाङका सूचना अधिकारी सरोज खतिवडालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको हो ।
त्यसैगरी सूचना हकका अभियन्ता अजयकुमार साह (उदयपुर), डा. मुन्नाकुमार मिश्र (बारा), शैलेन्द्रकुमार महतो (धनुषा), ईश्वरा तिवारी (झापा) र रामपुकार रौनियार पर्सालाई आयोग स्थापना दिवसका अवसरमा गत वैशाख २२ गते घोषणा गरिएको ‘विनय कसजू उत्कृष्ट अभियन्ता पुरस्कार’ प्रदान गरिएको छ ।
‘राज्यका हरेक निकायलाई सूचनाको हक प्रदान गर्ने सन्दर्भमा कहीँकतै कमजोरी भए त्यसलाई सच्याउनु पर्छ’ कार्यक्रमको अवसरमा राष्ट्रियसभा अध्यक्ष तथा प्रमुख अतिथी तिमिल्सिना भने–‘सूचनाको हक कार्यान्वयनको विषय लोकतन्त्र र सुशासनसँग जोडिएकाले लिने र दिने दुवै जागरुक हुन आवश्यक रहेको छ ।’

‘मुलुकमा सुशासन कायम गर्न नागरिकलाई बलियो तुल्याउन राज्यका निकायले जनतालाई सूचना प्रवाह गर्न कुनै कन्जुस्याइँ गर्नु हुँदैन्’ राष्ट्रिय सूचना आयोगका प्रमुख सूचना आयुक्त गुरुङले भने, ‘स्थानीय तहका उजुरीको संख्या बढ्ने क्रमले लोकतान्त्रिक पद्धति सुदृढ मात्र होइन, नागरिक पनि सचेत भइसकेको संकेत गरेको छ ।’
‘लोकतन्त्रसँग अन्योन्याश्रित सम्बन्ध रहेको सूचनाको हक कार्यान्वयन गर्ने सन्दर्भमा सूचना लिने र दिने संस्कृतिलाई व्यवस्थित तुल्याउन आवश्यक छ‘ नेपाल पत्रकार महासंघका सभापति विपुल पोख्रेलले उनले भने, ‘सूचनाले पारदर्शी समाज निर्माण गर्छ, पारदर्शी समाजले मात्र लोकतन्त्रलाई बलियो बनाउन सक्छ ।’

