मकवानपुर ।मकवानपुर प्रहरीले सुन व्यवसायीलाई अपहरण गरेको आरोपमा ४ जनालाई पक्राउ गरेको छ । असोज १० गते आइतबार बिहान ९ बजेकाे समयमा हेटौंडा–१० बासुदेव मार्गमा जे.एस. सुनचाँदी पसल सञ्चालन गर्दै आएका अन्दाजी ४० बर्षीय जितेन्द्र बिश्वकर्मालाई अपहरण गरेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको जनाएको छ ।
हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ घर भई सुनचाँदी पसल सञ्चालन गर्दै आएका बिश्वकर्मालाई अपहरण गरेकाे आराेपमा हेटौंडा–१० का ३९ बर्षीय बिनोदलाल श्रेष्ठ, ३० बर्षीय अनिल लामा, हेटौंडा–५ का ३२ बर्षीय बुद्ध लामा र हेटौंडा–२ का २७ बर्षीय आदेश लामा पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले जानकारी दिए ।
बा २० च ८९६० नम्बरको सेतो कारमा आएका अपरिचित व्यक्तिहरुले विश्वकर्मालाई अपहरण गरी लगेको भन्ने सूचनाको आधारमा खोजतलास गर्दा हेटौंडा–५ स्थित मकवानपुर रिकभरिङ समूहको कार्यालय अगाडीबाट उनीहरुलाई असाेज १० गते आइतबार विहान ११ः४० बजेकाे समयमा नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता रिमालले जानकारी दिए ।
अपहरणमा परेका विश्वकर्मालाई अपहरणुक्त गरी उक्त कार्यमा संलग्न रहेका ४ जना माथी थप अनुसन्धान प्रकृया अगाडी बढाइएको प्रहरी जनाएको छ ।

