मकवानपुर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मन्त्रिपरिषदले पूर्णता पाए पछी प्रदेश सरकार फेरबदल हुने बताएका छन् । ‘केही दिनमा मन्त्रिपरिषदले पूर्णता पाउने छ शनिबार हेटौंडामा आयोजित पार्टीको जिल्ला भेलामा उनले भने ‘केन्द्रमा मन्त्रिपरिषदले पूर्णता पाएसँगै बागमती र प्रदेश १ को सरकार फेरबदलमा लाग्ने छाैं।
अध्यक्ष नेपालले नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको गठबन्धन प्रदेश हुँदै जिल्ला र वडा तहसम्म पुग्ने बताए । नेता नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई तानाशाह, स्वेच्छाचारी, अंहकार र दम्भले भरिएको व्यक्ति भएको आरोप लगाए । उनले ओलीले तानाशाही प्रवृत्ति देखाएकोले विद्रोह गर्न परेको भन्दै आगामी निर्वाचनमा ओलीको पार्टीलाई टर्च बालेर खोजेर पनि नभेटिने दाबी गरे ।
‘हामीले एमालेभित्र रहँदा उनको कमजोरी र गलत कार्यको विरुद्धमा पटक पटक आवाज उठायौं तर, आलोचना गर्नेलाई सिध्याउने नीति ओलीले लिए’, उनले भने, ‘आलोचना गरेका कारण हामीलाई सिध्याउन कारबाही गरेर पार्टीमा एकलौटी रुपमा अघि बढ्ने नीति लिइयो, हामीले त्यसैविरुद्ध विद्रोह गरेका हौं ।’

यसै बीच नेता नेपालले आउँदो चुनावमा केपी ओली नेतृत्वको पार्टी नेकपा एमालेलाई टर्च बालेर खोज्नु पर्ने दिन आउने बताएका छन् । मकवानपुरको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले आउँदो चुनावको नतिजाले एमालेलाई र्टच बालेर खोज्नुपर्ने दिन आउने दाबी गरेका हुन् ।
उनले केपी ओलीको कारण एमाले फुट भएको बताए । उनले ओलीले पार्टीमा पार्टी विपरित विभिन्न एकल निर्णय गरेको कारण पार्टी फुट भएको बताए । उनले आफ्नो पार्टी समाजवादी नेपाल कम्युनिस्ट आन्दोलनको नेतृत्व गर्ने बताए । उनले देशभर संगठन निर्माण भईरहेको बताउँदै समाजवादी अभियानमा जोडिनेको संख्यामा कमी नभएको दाबी गरे ।
यसैगरी नेपालले आफ्नो पार्टी समाजवादीले जनताको बहुदलीय जनवाद (जबज) को मान्यता र विशेषताालाई आत्मसात गरेको बताए । उनले एकीकृत समाजवादीका विरोधीहरुले समाजवादीले जबज नमानेको भन्दै गलत प्रचार गरेको भन्दै भ्रममा नपर्न आग्रह गरे । उनले एकीकृत समाजवादीले सबै विचारहरु बोकेको भन्दै मर्क्सवाद–लेनिनवाद मार्गदर्शक सिद्धान्तलाई आत्मसात गरेको बताएका थिए ।

यस्तै नेकपा एकीकृत समाजवादी पार्टीका नेता एवम् प्रतिनिधिसभा सदस्य विरोध खतिवडाले नेकपा एमालेले सरकारलाई असफल पार्नका लागि संसदमा नाराबाजीको नाटक मञ्चन गरेको आरोप लगाएका छन् ।
शनिबार हेटौंडामा एकीकृत समाजवादी मकवानपुरको जिल्लास्तरीय भेलालाई सम्बोधन गर्दै नेता खतिवडाले बारम्बार संसद्को हत्या गर्नेहरुले संसदीय सर्वोच्चता कायम गर भन्ने नारा लगाएको देख्दा आश्चर्य लागेको बताए । उनले संसद्को रक्षाका लागि सडकदेखि अदालतसम्म पुगेर लड्नेले गरेकोचाहीं संसदीय मर्यादा विपरित हुने अनि संसद्को हत्याराले गरेको नाराबाजीचाहीं कसरी मर्यादित भयो भन्ने प्रश्न गरे ।
कम्युनिष्टका नेता मदन भण्डारी, मनमोहन अधिकारी र पुष्पलालले व्यक्तिवाद नसिकाएको भन्दै ओलीको व्यक्तिवादी सोच र सिद्धान्तका कारण एमालेको भविष्य नै संकटमा परेको उनले बताए । केपी ओलीलाई कटाक्ष गर्दै नेता खतिवडाले भने ‘देशको ढुकुटीमा मुख गाड्न पल्केका मुसाहरु बिरालो गएर बसेपछि भागाभाग भएका छन् ।’

