मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टी बागमती प्रदेशकाे प्रमुख सचेतकमा मुनु सिग्देल चयन भएकी छिन् । पार्टीकाे साेमबार हेटाैडामा बसेकाे बैठकले सचेतकमा सिग्देल सहित संसदीय दलकाे उपनेतामा कृष्ण प्रसाद खनाल र सचेतकमा बसुन्धरा हुमागाईलाई चयन गरेकाे छ ।
यसअघि पार्टीकाे आइतबार बसेको बैठकले राजेन्द्र प्रसाद पाण्डेलाई दलको नेता चयन गरेको थियो । आजको बैठकले दलको प्रमुख सचेतकमा सिग्देल दलकाे उपनेतामा खनाल र सचेतकमा बसुन्धरा हुमागाईंलाई सर्वसम्मत चयन गरेको पार्टीले साेमबार जारी गरेकाे विज्ञप्तीमा उल्लेख छ ।
त्यस्तै, बागमती प्रदेशमा गठबन्धनको सरकार बनाउनका लागि गठबन्धनमा सामेल भएका दलहरू नेकपा माओवादी केन्द्र र नेपाली कांग्रेसका नेताहरूसँग समन्वय गर्ने जिम्मा दलका नेता पाण्डेलाई दिइएको प्रमुख सचेतक सिग्देलले जारी गरेकाे विज्ञप्तीमा जनाइएकाे छ ।
तीन दलको सरकार निर्माण भएपश्चात सरकारको तर्फबाट गर्ने न्यूनतम साझा कार्यक्रमको मस्यौदा तयार गर्न प्रदेशसभा सदस्यहरू माधव प्रसाद पौडेल, बसन्त प्रसाद मानन्धर , मीना ज्ञवाली र बसुन्धरा हुमागाईंलाई जिम्मा दिइएको नेकपा एकीकृत समाजवादी पार्टीले जनाएको छ ।
त्यस्तै ५६ प्रदेशसभा सदस्य रहेको बागमतीमा १३ जना नेकपा एकीकृत समाजवादीका सांसदहरू रहेको हुनाले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बहुमत गुमाइसकेको जनाइएको छ । ‘नेकपा (एमाले) प्रदेश सभा सदस्यहरु मध्ये १३ जना सदस्यहरु नेकपा (एकीकृत समाजवादी) मा समावेस भएको हुदाँ बर्तमान अष्टलक्ष्मी शाक्यको सरकार अल्पमतमा परी सकेको कारण बहुमत गुमाई सकेको सरकारलाई बर्तमान अबस्थामा बिकास निर्माणका नयाँ कार्यक्रमहरु स्वीकृत गर्न, निश्चित शर्तका आधारमा बितरण गर्ने गरी राखिएको अबण्डाका रकम निकासा नगर्न र आर्थिक अनुशासनलाई कायम गर्न प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यलयलाई पत्राचार गर्ने निर्णय गरिएको छ।’ विज्ञप्तीमा भनिएकाे छ ।


