मकवानपुर । रेडियो सरोबर ९२.५ मेगाहर्जले मकवानपुरका स्थानीयतहका उप–प्रमुख तथा उपाध्यक्षहरुलाई सम्मान गरेको छ । हेटौंडामा रहेको एफएमले तिज विशेष कार्यक्रमको आयोजना गरी ‘सरोबर चेली सम्मान’ मार्फत मकवानपुरका उपमहानगरपालिकाका उप प्रमुख र गाउँपालिका उपाध्यक्षहरुलाई सम्मान गरेको हो ।
मकवानपुरमा रहेर विभिन्न सामाजिक तथा राजनैतिक क्षेत्रमा योगदान पुर्याएका उपप्रमुख तथा उपाध्यक्षहरुलाई ‘सरोबर चेली सम्मान’ स्वरूप सम्मान गरिएको रेडियो सरोबरका स्टेसन मेनेजर राजु लामिछानेले बताए ।
सरोबरले हेटौडा उपहानगरपालिकाकी उपमेयर मिना लामा, बकैया गाउँपालिकाकी उपप्रमुख सरला वोलाखे, भीमफेदी गाउँपालिकाकी उपप्रमुख पार्वती राना, इन्द्र सरोबर गाउँपालिकाकी उपप्रमुख उमाकुमारी लामा, राक्सिराङ गाउँपालिकाकी उपप्रमुख निर्मला डिमडुङ, मनहरी गाउँपालिकाकी उपप्रमुख मनिला विष्ट, गढी गाउँपालिकाकी उपप्रमुख हर्क माया रुम्बा, बागमती गाउँपालिकाकी उपप्रमुख धनमाया स्याङ्तान र कैलाश गाउँपालिकाकी उपप्रमुख सुकुमाया थिङलाइ सम्मान गरेको हो ।
एफएमले चेली सम्मान संगै दुना टपरी गास्ने तथा बत्ति काट्ने प्रतियोगिता गरेको छ । चाडपर्व र कला सस्कृतिको जगेर्ना गर्नका लागि एफएमले हरेक वर्ष खुला दुना टपरी तथा बत्ति काट्ने प्रतियोगिता तथा मकवानपुरे चेलीलाई तिजको अवसरमा सम्मान गर्ने गरेको लामिछानेले बताए ।

कार्यक्रममा दुना टपरी गास्ने तथा बत्ति काट्ने प्रतियोगितामा १० जनाले सहभागी जनाएका थिए । प्रतियोगितामा तेस्रो सिता अधिकारी, दोस्रो सिता मैनाली र प्रथम वेगम बराल भएका छन् । प्रतियोगितामा प्रथम, द्वित्तीय र तृतीय हुनेलाई विभिन्न चांदीका उपहार र प्रमाण-पत्र वितरण गरिएको थियो ।
बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख अतिथ्यतामा भएको कार्यक्रमका बागमती प्रदेशसभा सदस्य कुमारी मोक्तान, विभिन्न राजनैतिक तथा सामाजिक क्षेत्रका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

