मकवानपुर । बागमती प्रदेश सरकारको मन्त्री तथा राज्यमन्त्रीहरुको पद तथा गोपनीयतको सपथग्रहण कार्यक्रममा पत्रकारहरुलाई प्रवेश रोक लगाइएकोप्रति नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिको गम्भीर ध्यानाकर्षण भएको छ ।
‘भदौ २३ गते बुधबार दिउँसो हेटौंडा १० स्थित प्रदेश प्रमुखको कार्यालयमा भएको सपथग्रहण कार्यक्रममा पत्रकारहरुलाई समाचार संकलन गर्न रोक्नु नेपालको संविधान २०७२ को मुल मर्मभित्र रहेको प्रेस स्वतन्त्रताको ठाडो उलंघन हो ।’ नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिक महासचिवले कृष्ण सारु मगरले भने– ‘ संविधानले निषेध गरेका विषय बाहेक अन्य सबै विषयमा स्वतन्त्रतापूर्वक समाचार संकलन गर्न पाउने पत्रकारहरुको अधिकारमाथि भएको प्रहारले प्रदेश प्रमुखको कार्यालय र प्रदेश सरकार आम सञ्चारक्षेत्रमाथि निरंशुकता लाद्न उद्धत रहेको महासंघको ठहर छ ।’
नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले आज प्रेस विज्ञप्ति जारी गर्दा भनेकाे छ ‘आगामी दिनमा यस्ता कमजोरी सच्याई स्वतन्त्रतापूर्वक समाचार संकलन गर्ने बातावरण निर्माणको लागि सम्बन्धित सबैपक्षसँग माग गर्दछौं । अन्यथा प्रदेश प्रमुखको कार्यालय र प्रदेश सरकारका सबैखाले सार्वजनिक कार्यक्रमहरु बहिस्कार गर्न बाध्य हुनेछौं ।’
आज बागमती प्रदेश प्रमुख कार्यालयमा ६ जना मन्त्री र ४ जना राज्यमन्त्रीको सपथग्रहण कार्यक्रममा समाचार संकलन गर्न पत्रकारलाई रोक लगाइएको थियो । तर, पत्रकार भन्दा बाहेकका चालक, जग्गा व्यावसायी, होटल व्यावसायी र आम युवाहरु सपथग्रहणको हलमा प्रवेश गरेएकाे भन्दै पत्रकारहरुले सामाजिक सजालमा समेत विराेध जनाएका छन् ।
पत्रकारलाई समाचार संकलनमा रोक लगाएपछी नेपाल पत्रकार महासंघ मकवानपुर साखाको अगुवाइमा प्रदेश प्रमुखको कार्यालयको मुल गेटमानै पत्रकारहरुले धर्ना दिएका थिए ।
यसअघि पनि मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यको सपथग्रहणका वेला राती ११ बजे पत्रकारलाई प्रवेशमा रोक लगाइएको थियो ।

