मकवानपुर । हेटाैडा ११ मा रहेका त्रिभुवन माविमा शिक्षकहरूको स्वागत तथा बिदाइ कार्यक्रम भएको छ । सरस्वती आधारभूत विद्यालय त्रिभुवन माविमा एकिकृत भएपछि त्रिभुवन माविमा आउनु भएका नयाँ शिक्षकहरू तथा अन्य विद्यालयबाट सरुवा भई आउनु भएका शिक्षकहरूलाई कार्यक्रममा स्वागत गरिएको छ ।
सरस्वती आधारभूत विद्यालयबाट आउनु हुने शिक्षकहरू सिता सापकोटा तथा रिता लामिछाने र कार्यालय सहयोगी कमली थापालाई विद्यालयमा स्वागत गरिएको छ । यसै गरी श्री कालिका मावि नामटारबाट सरुवा भई आउनु भएका मावि सामाजिक शिक्षक राम कुमार बर्तौला, नयाँ नियुक्ति हुनुभएका बाल विकास शिक्षक मनिषा पौडेल र कार्यालय सहयोगी भवानी बस्ताकोटीलाई पनि कार्यक्रममा स्वागत गरिएको हो ।
विद्यालयका प्रधानाध्यापक नारायण प्रसाद भण्डारीको सभाध्यक्षता तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवस पराजुलीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सेवा निवृत्त हुनु भएका विद्यालयका पूर्व प्रधानाध्यापक समेत रहनु भएका शिक्षक केदार प्रसाद बिडारी र शिक्षक प्रेम शर्मा सापकोटालाई बिदाइ गरिएको छ ।
बिंडारीले त्रिभुवन माविमा २० वर्ष प्रधानाध्यापक भई काम गरेका थिए भने सापकोटाले पनि लामो समय विद्यालयमा सेवा गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि पराजुलीले त्रिभुवन मावि भौतिक रुपमा र शैक्षिक रुपमा सबल रहेकाले त्यसको निरन्तरताका लागि सधैँ विद्यालय प्रयत्नशील रहेको बताएका छन् ।
विद्यालयका सहायक प्रधानाध्यापक हस्तलाल श्रेष्ठले स्वागत मन्तव्य राखेकाे कार्यक्रममा सम्मानित हुनुहुने शिक्षकहरूलाई दोसल्ला, टोपी तथा कदर पत्रका साथ प्रधानाध्यापक नारायण भण्डारी र व्यवस्थापन समितिका अध्यक्ष दिवस पराजुलीले सम्मानित गरेका थिए । विद्यालयका विज्ञान शिक्षक सुवास खनालले सहजीकरण गरेकाे उक्त कार्यक्रममा विद्यालयको शिक्षक अभिभावक सङ्घकी सदस्य देवकी लामिछाने, विद्यालय व्यवस्थापन समितिका सदस्यहरू र विद्यालयका शिक्षकहरूको उपस्थिति रहेको थियो ।

