नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) पार्टी संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् ।
बानेश्वरमा आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले दलको नेता चयन गरेको हो । यस्तै, राष्ट्रिय सभा संसदीय दल नेतामा स्थायी कमिटी सदस्य बेदुराम भुसाल चयन भएका छन् । अरू पदाधिकारी भने पछि चयन हुने सांसद विरोध खतिवडाले बताए ।
संसदीय दलको बैठकले विधान मस्यौदा समिति बनाएको छ । भवानी खापुङ, शेरबहादुर कुँवर, निरादेवी जैरु, ठगेन्द्रप्रकाश पुरी र लक्ष्मी चौधरी समिति छन् । यसैगरी, बैठकले मन्त्री छान्ने जिम्मा पार्टी अध्यक्ष नेपाललाई दिने निर्णय गरेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने औपचारिक निर्णय पार्टीको स्थायी कमिटी बैठकले गरिसकेको छ ।
‘आजको बैठकले प्रतिनिधिसभामा दलका नेता अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय सभाको दलको नेता डा. बेदुराम भुसाललाई चयन गरेको छ’ बैठकमा सहभागी सांसद विरोध खतिवडाले आइतबार भने, ‘देउवा सरकारमा जाने मन्त्री छान्ने जिम्मा अध्यक्ष माधव कमरेडलाई नै दिइएको छ ।’
दलको बैठक बस्नुअघि प्रधानमन्त्री देउवा, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल र पार्टी अध्यक्ष नेपालबीच छलफल भएको थियो । मन्त्रालय बाँडफाँटबारेमा छलफल गर्दै छिट्टै नै मन्त्रिपरिषद् विस्तार गर्ने सहमति नेताहरूबीच भएको छ ।
स्रोतका अनुसार पाँच दलीय गठबन्धनभित्र कांग्रेसले ७, एकीकृत समाजवादी, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)ले ६÷६ मन्त्रालय लिने सहमति गरेका छन् । यद्यपि कसले कुन मन्त्रालय लिने भन्नेबारे अझै टुंगो लागेको छैन ।
बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली कम्युनिस्टको नाममा कलंक भएको टिप्पणी गरे । अध्यक्ष नेपालले आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने प्रवृति ओलीमा रहेको बताए ।
‘कम्युनिस्ट पार्टीलाई जनताले मन पराए, निर्वाचनमा मतदान पनि गरेर झन्डै दुई तिहाइ बहुमतसहित विजयी गराए । तर, केपी ओलीकै कारण एमाले पार्टी मृत अवस्थामा पुग्यो,’ नेपालले भने, ‘आफू प्रधानमन्त्री नहुने हो भने कुर्सी नै भाँचिदिने केपी ओलीको प्रवृति रहेको छ ।’
केपी ओलीका कारण कम्युनिस्ट आन्दोलन नै बदनाम र सकिने देखेपछि आफूले नयाँ दल गठन गर्न बाध्य भएको उनको भनाइ थियो । बैठकमा सहभागी एक सांसदका अनुसार कम्युनिस्ट आन्दोलनको संरक्षणका गर्दै अगाडि बढनुको विकल्प नरहेको निष्कर्ष आफूहरूको रहेको छ ।
अध्यक्ष नेपालले आफूहरूले निरन्तर केपी ओलीको व्यक्तिवादी चरित्रविरुद्ध निरन्तर संघर्ष गर्नुपरेको बताए । ओलीसँगको व्यक्तिवादी चरित्रविरुद्धको निरन्तर संघर्षपश्चात् नयाँ पार्टी खोल्नुपर्ने अवस्था आएको उनले बताए । पार्टीदेखि संसद्सम्म आफ्नो व्यक्तिवादी चरित्र लाद्ने ओलीले संसद् विघटन गरेर पार्टी एकता भाँडेको अध्यक्ष नेपालको बताए ।
ओलीले गोप्य सहमति पालना नगर्दा पनि अहिलेको राजनीतिक अवस्था सिर्जना भएको आरोप नेपालले लगाएका छन् । उनले साबिक नेकपाका बेला नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग भएको आलोपालो सरकार र पार्टीको नेतृत्व गर्ने सहमति ओलीले लत्याउँदा राजनीतिक अस्थिरता सुरु भएको बताए ।
दक्षिणपन्थीको इसारामा गुटको राजनीति गरेर ओलीले कम्युनिस्ट एकतालाई मात्रै नभई एमालेलाई समेत जोगाउन नसकेको नेपालको आरोप छ । प्रधानमन्त्रीको कुर्सीमा बसेर गर्न नहुने र बोल्न नहुने अभिव्यक्ति दिएर ओलीले मुलुकमा राजनीतिक अस्थिरता निम्त्याएको आरोप लगाएका उनले चुनावी घोषणा पत्रविपरीत ओली अघि बढेको आरोप लगाए ।
प्रधानमन्त्रीको कुर्सी असुरक्षित भएपछि ओलीले प्रतिनिधि सभा विघटन गरेको बताउँदै अध्यक्ष नेपालले सरकार र पार्टीमा आफ्नो विकल्प नरहेको भन्ने अहं ओलीले पालेको बताए । राजधानी दैनिकबाट समाचार साभार गरिएकाे

