नवौं महाधिवेशनपछि एमालेमा अध्यक्ष केपी शर्मा ओलीका क्रियाकलापमाथि सबैभन्दा बढी प्रश्न गर्ने नेता थिए– उपमहासचिव घनश्याम भुसाल । उनले पार्टीभित्र र बाहिर सार्वजनिक मञ्चहरूमा ओलीका हरेक कदमको चर्को विरोध गरे । तर अघिल्लो वर्ष उनी ओलीकै मन्त्रिपरिषद्मा सामेल भए । मन्त्रिपरिषद्मा बस्दा पनि प्रधानमन्त्रीमाथि प्रश्न गर्ने उनी प्रतिनिधिसभा विघटनपछि मन्त्री पद छोडेर अोलीविरुद्ध सडक संघर्षमा उत्रिए ।
तर पार्टी विभाजनको तहमा पुग्दा उनले माधव नेपालको साथ छोडे र ओलीसँगै मिलेर जाने निर्णय लिए । आफैंले पटक पटक उठाएका प्रश्नहरूको जवाफ नलिई ओलीसँगै मिलेर जाने निर्णलाई लिएर उनीप्रति सामाजिक सञ्जालहरूमा ‘सिद्धान्तका गफ’ मात्र गर्ने ‘अवसरवादी’ नेता भन्ने टिप्पणी भइरहेका छन् ।अध्यक्ष ओलीका सबैभन्दा कट्टर विरोधी नेता भुसाल अहिले किन एमालेमै बसे ? नेता भुसालसँगको कुराकानी :
तपाईंहरू एमालेमा एकता भयो भन्दै हुुनुहुन्छ, तर यही बेला पार्टी फुटेर नयाँ दल बनेको छ । खासमा एकता भएको हो कि विभाजन ?
एमाले विभाजित भएको हो । विभाजन उपयुक्त थियो वा थिएन विभाजित पार्टीले के गर्ला ? यी तमाम विषयमा प्रश्नहरू होलान् । यो विभाजनका लागि हामीभित्र कति छलफल भयो ? छलफल र निर्णयहरू कति संस्थागत भयो वा भएन ? त्यस विषयमा छलफल हुनसक्छ । सामान्य रुपमा भन्दा विभाजित भयो ।
कुन प्रकारको विभाजन हो ? संसदीय दलमा २० प्रतिशत पुगेन, केन्द्रीय कमिटीमा मात्र केही बढी प्रतिशत रह्यो । त्यसैले चोइटिएको मात्र हो ?
कानुनी रुपमा भन्दा एमाले माथिदेखि तलसम्म विभाजित हुने प्रक्रियामा छ । तर योभन्दा महत्त्वपूर्ण प्रश्न के हो भने विभाजनले आफ्नो औचित्य पुष्टि गर्छ कि गर्दैन ? केन्द्रीय कमिटीका साथीहरूले २० प्रतिशत पुर्याएर निर्वाचन आयोगको प्रक्रियाअनुसार विभाजित गर्नु भएको हो । यो २० प्रतिशतको विषयको औचित्य पुष्टि गर्नु पर्नेछ । म मन्त्रिपरिषद्मा हुँदा विभाजनका लागि केन्द्रीय कमिटी वा संसदीय दलमा ४० प्रतिशत राख्ने व्यवस्थाको विरोध गरेको हो । संसद्, संविधान जोगाउनका लागि भोलि कसैले २० प्रतिशत वा १० प्रतिशत ल्याएर संसद् जोगिन्छ कि जोगिदैन, दलीय व्यवस्थामा यसका के प्रभाव हुनेछन् ? भन्ने विषयमा उहाँहरूले पुष्टि गर्नुपर्ने हुन्छ । कमरेड ओलीसँगका असहमतिहरू थिए र छन्, त्यसका कुनै विवाद छैन । ओलीसँगको विवादको कारण पार्टी विभाजनको तहसम्म जानुपर्ने हुन्थ्यो कि हुँदैनथ्यो ? ओली कमरेडसँग विवाद बाहेक अरु के चीज थियो र त्यसले फुट्नैपर्ने थियो ? त्यो पनि पुष्टि गर्नुपर्नेछ ।
लामो समयसम्म माधवकुमार नेपालसँग बसेर ओलीसँग अन्तरसंघर्ष गर्नुभयो, अहिले माधव नेपाललाई किन चटक्कै छोडिदिनुभयो ?
हाम्रो विवादको सुरुवात विभाजनका लागि थिएन । कमरेड ओलीले फागुन २८ गते आफ्नो टिमका साथीहरूको बैठक गर्नुभयो र त्यसलाई नै पार्टीको निर्णय भनिदिनुभयो । जसको कारण आधा जति साथीहरू बाहिर रहेर त्यो कसरी पार्टी कमिटीको निर्णय हुन्छ भन्ने एउटा सामान्य बहसबाट यसको सुरुवात भएको हो । यो यस्तो घटना बन्यो, जसले हाम्रो संघीय र प्रदेश सरकार नै हिँड्यो । त्यो नगरेको भए सरकार हिँड्ने थिएन । हाम्रो दुर्भाग्य त्यहीँबाट सुरु भएको हो ।
अहिले हामी जुन प्रक्रियामा आइपुगेका छौं र निर्णय गरेका छौं त्यसले हिजो आधा–आधी साथीहरूलाई ढोका बन्द गरेर जसरी बाहिर राखिएको थियो त्यो गलत थियो भन्ने हाम्रो महसुस हो । तर अहिले यस विषयमा हामी चर्चा पनि गर्नेछैनौं । कसले गल्ती गर्यो, कसले के गर्यो भन्ने छलफल पनि गर्दनौं । तर यसको तार्किक निष्कर्ष के हो भने हामी फागुन २८ भन्दाअघि पुगेका छौं । तर यो पूरै प्रक्रियामा हामी विभाजनको पक्षमा थिएनौं । विवाद सुरु भएपछि राष्ट्रिय कार्यकर्ता भेला, स्थायी कमिटी, केन्द्रीय कमिटीका बैठकहरू गर्यौं । झलनाथ–माधवकुमार नेपाल समूहको संस्थागत निर्णय भनेको केही समस्याहरू छन्, तर पनि एकता नै समाधान हो भन्ने थियो । खासगरी फागुन २८ गते गरेका निर्णयहरूले समस्या उत्पन्न गरेको छ त्यसलाई समाधान गरिनुपर्छ । हाम्रो सबै समस्या पार्टीभित्र समाधान गरिनुपर्छ भन्ने सर्त थियो ।
तर अध्यक्ष ओलीसँग मिल्दा तपाईंहरूले फागुन २८ गतेकै निर्णयलाई अनुमोदन गरिदिनुभयो । जो –जो व्यक्तिहरूलाई स्थायी कमिटीमा थपिएको थियो उहाँहरूसँग तपाईंहरू बैठकमा बस्नुभयो नि ?
१० बुँदे सहमति गरिसकेपछि एमालेको एउटा स्थायी कमिटीको बैठक भयो । एकताका लागि त्यो बैठक नगर्नुहोस् भनेर हामीले अनुरोध पनि गरेका थियौं । त्यतिखेर र त्यसपछि एमालेको बैठक २०७५ जेठ २ गतेको बैठक बसेर पूर्वमाओवादीबाट आएका साथीहरूलाई कमिटीमा राख्ने प्रक्रिया पूरा गरिएको रहेछ । हामीले १० बुँदे सहमति गरेपछि ती कमरेडहरू प्रक्रिया पूरा गरेर आए । अहिले हामी गएर तपाईंहरू बाहिर बस्नुहोस् भन्नु मानवीय पनि हुँदैनथ्यो । त्यसकारणले त्यसलाई विवादको विषय बनाएनौं । कानुनी र प्रक्रियाको हिसाबले त्यो सम्पन्न नै भइसकेको थियो । त्यसले गर्दा यस विषयमा छलफल धेरै गरेनौं ।
विवादका विषयलाई थाती राखेर अहिले अघि बढ्ने भन्नुभयो । थाती राख्दा अहिलेकै विवादको विषय झनै ठूलो समस्या भएर आउँदैन ?
यसमा दुई वटा पक्ष छन् । हामी अझै ठूलो विवादमा जानसक्छौं । एक ठाउँमा बसेर बैठक नगरेको सानो कुरा वा विवादबाट हामीले प्रधानमन्त्री, सरकार, एकीकृत पार्टी सबै डामाडोल गरेर, सबै गुमाएर आएका छौं । एमाले परिवारलाई यो भयानक दु:ख र अवसादको रुपमा रहेको छ । यसर्थ, यति सानो कमजोरीबाट यतिको विध्वंस बेहोरेको एमालेले अब यस्तो गल्ती र मुर्खता गर्नेछैनौं ।
तपाईं पार्टीभित्र धेरै विधि, पद्दतिको कुरा गर्नुहुन्थ्यो । केपी ओलीप्रति तपाईंका धेरै प्रकारका प्रश्नहरू थिए । ती प्रश्नको एउटा पनि जवाफ नपाउँदै कसरी अध्यक्ष ओलीसँग कुम जोड्न पुग्नुभयो ?
यसको उत्तर धेरै कोणबाट हुन सक्छ । पछिल्लो समयमा पार्टीमा उठाएको मुद्दा भनेको जेठ २ गते जाने हो । पार्टीमा यो बाहेकका तमाम मुद्दाहरू छन् । नवौं महाधिवेशन अघि र पछि के भयो भन्नेसहितका धेरै मुद्दाहरू छन् । तर अहिले भएको सहमति भनेको यी सबै विषयहरूलाई पार्टीभित्र छलफल गर्ने भन्ने हो । कतिले यसलाई आत्मसमर्पण भने, कसैले मध्यपन्थीहरूको आत्मसमर्पण भनेका छन् । बाहिरबाट हेर्दा जे देखियो उहाँहरूको जानकारी, हित, इच्छाअनुसार लेख्ने र टिप्पणी गर्ने काम भएको छ । तर हामीबीचमा एउटा सहमति भयो, त्यसअनुसार हामीसँगै बस्छौं, हिजो जे कारणले हामी एकै स्थानमा बस्न सकेनौं त्यसको समाधान गरेका छौं । त्यो भनेको २०७५ जेठ २ मा फर्केका छौं र १० बुँदे सहमति गरेका छौं ।सबै मुद्दामा मात्रै होइन सो समूहको बारेमा जे भनेको छु त्यो सबै त्यही कुरा गर्छु ।
पार्टी जीवन फरक जीवन हो । यो स्वतन्त्र चिन्तक, बुद्धिजीवी, व्यक्तिको जस्तो हुँदैन । पार्टीमा आउँदा मानिसले धेरै स्वतन्त्रताहरूलाई सम्झौता गरेर आएको हुन्छ । संगठनको नाममा कसैले त्यो उल्लंघन गर्छ भने व्यक्तिले पनि संगठनसँग गरेका सम्झौता उल्लंघन, विद्रोह गर्ने अवस्था आउँछ, अस्ति त्यस्तै भएको हो । व्यक्ति र संस्थाको बीचमा एउटा अनुबन्ध हुन्छ । कमरेड ओली संस्था र म व्यक्ति भनेको होइन । सबै मिलेर एउटा संस्था बनाएको हो । यो संस्थासँग हरेक व्यक्तिले एउटा अनुबन्ध गर्यौं । १० बुँदे पनि त्यही अनुबन्ध हो ।
आफू अनुकूल नभएको कुरा तपाईं असन्तुष्टिको रुपमा यसअघि सार्वजनिक रुपमा व्यक्त गर्नुहुन्थ्यो । तर त्यसको जवाफ पाउनुभयो भनेर सोध्दा पार्टीको संस्थागत कुरा भनेर पन्छिनुहुन्छ । तपाईं पब्लिक अडिटमा पनि हुनुहुन्छ नि ? यो ख्याल गर्नुभएको छ ?
जुन समयमा विवादका विषयहरू बाहिर आए त्यस समयमा पनि भनेको के थियो भने पार्टीभित्र विषयलाई राख्ने परिस्थिति बनेन । त्यसलाई ढोका थुनियो भन्दै आएको छु । बाहिरबाट घरभित्र पस्ने समयमा थुनियो । जसले गर्दा विवादहरू सुरु भए । अहिले धेरै ठूलो विवाद, तानातानी र मूल्य चुकाएर ढोका खोलेका छौं र हामी एकै स्थानमा भएका छौं । यो दुनियाँले हेर्ने र देख्ने सार्वजनिक विषय नै हो । त्यसलाई दुनियाँले हेरिदेओस् मूल्याकंन गरिदेओस् । यसमा पनि ठीक र बेठीक के हो भनेर मूल्याकंन गरिदेओस् । निजी जिन्दगीबाट राजनीतिलाई हेर्ने जो कुनै महानुभावहरूले आफू व्यक्ति हुँ, निजी जिन्दगी बाँच्दै छु र यिनीहरू सामूहिक जीन्दगी बाँच्दैछन् । हामी दुवै बीचमा केही सीमाहरू छन् है भन्ने कुरा हेरिदिनुभयो भने यसमा धेरै ठूलो कन्फ्युजन रहन्छ जस्तो लाग्दैन ।
पुस ५ मा प्रतिनिधिसभा विघटन भइसकेपछि आन्दोलन गर्दै ओलीले चालेका कदमलाई प्रतिगमन भन्नुभयो । के अब तपाईंहरूको स्वार्थ मिलेपछि प्रतिगमन स्वत: सच्चिएको हो ?
म मात्रै मिलेको भन्ने अर्थमा लिइयो भने त्यो सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएको जस्तो ‘टाङमुनि छिरेको’ वा इत्यादी कुरा आउँछ । तर यही प्रश्न कमरेड ओलीलाई पनि हुन्छ । मिल्न जानुभयो भन्ने होइन हामी सबै मिल्यौं भन्ने हो । हामीले त्यसलाई प्रतिगमन भन्यौ र कमरेड ओलीले त्यसलाई यो संवैधानिक अधिकारको प्रयोग अर्थात् संविधानको अभ्यास भन्नुभयो । यसमा हाम्रो विवाद थियो । यो विषयलाई अदालतले टुङ्गयाइदियो । पहिलो जस्तो दोस्रो पटकको विघटन पनि असंवैधानिक हो । यो प्रधानमन्त्रीले गर्न पाउने होइन र छैन भनेर भन्यो । त्यो फैसलालाई मैले ठिक गर्यो भनेर आधारभूत रुपमा स्वागत पनि गरे । यसले पार्ने प्रभावका अन्तरकुन्तरका विषय अरुहरू होला । मुद्दाको रुपमा अदालतले जे निर्णय गर्यो त्यसलाई स्वागत गरे । कमरेड ओलीले त्यसमा असहमति राख्नुभयो । यी सबै विषयलाई हामी यथोचित समयमा छलफल गर्नेछौं । त्यो भनेको महाधिवेशन हो । त्यसैबाट टुङ्गो लगाउने छौं ।
पार्टीभित्र विवाद भएको समयमा गत अप्रिल १ मा तपाईंले अध्यक्ष ओलीलाई लक्षित गर्दै ट्विट गर्नुभएको थियो । त्यसमा ‘व्यक्तिवादी, अवसरवादी, दक्षिणपन्थी, विसर्जनवादी ताण्डव पराजित गर्दै लोकतन्त्र र वामपन्थको ऋण तिर्नेछौं’ भन्नुभएको थियो । अब त्यो ऋण तिर्ने कसरी रहेछ ? कि सबै आरोपबाट माफी दिनुभएको हो ?
व्यक्तिवादी, दक्षिणपन्थी, विसर्जनवादी वा अवसरवादी जे भनेको छ, त्यस सन्दर्भमा नेपालको वर्तमान अवस्थामा जुन भूराजनीति छ, संसद्को अस्थिरता र संविधानमाथिको आक्रमण क्रान्तिकारीहरूले गर्ने कार्यक्रम होइन । तर भयो त्यस्तै । प्रधानमन्त्री तथा अध्यक्षले त्यही गर्नुभयो । संसद् विघटन बेठिक थियो भन्ने मलाई सधैंभरि लाग्न सक्छ । तर पार्टीले ठिक थियो भनेर निर्णय भने गर्नसक्छ । कमरेड ओलीलाई संसद् विघटन ठिक थियो भन्ने लागिरहन सक्छ, तर पार्टीले बेठिक थियो भनेर निर्णय गर्नसक्छ । यो भइरहने विषय हो । तर हामी यस्ता विषय संस्थागत रुपमा महाधिवेशनबाट निरुपण गर्नेछौं । संस्थागत रुपमा गर्ने निर्णय भनेको संविधान निर्माणमा नेतृत्व गरेको, पार्टीले संसदको रक्षा गर्नुपर्छ, संविधानमाथि हरबखत खतरा छ भन्ने बुझेको पार्टीले त्यसैअनुसार यसको निर्णय गर्छ भन्ने विषयमा म स्पष्ट छु । हाम्रो पार्टीको क्रान्तिकारी इतिहासको कारण यसले गलत या अन्यथा गर्दैन । त्यसले पार्टी मेरो वा कमरेड ओली वा अन्य कुनै व्यक्तिको मुख, इच्छा हेरेर निर्णय गर्दैन र भविष्य तय गर्दैन भन्नेमा विश्वस्त छु ।
तपाईंले केपी समूहलाई राज्यदोहनमा सहभागी रहेको गुट र केपी ओलीका लागि संसारमा ‘चाकर’ वा ‘शत्रु’ मात्रै छन् भन्नुभएको थियो । तपाईंहरू अब चाकर हो कि शत्रु हो ?
राज्यदोहनको कुरा गर्दा सामान्यता: अहिले होइन विगत दस वर्षदेखि पार्टी हाम्रा प्रवृत्ति, यसको निर्माण, सदस्यको भर्ति, नेतृत्वको चयन, उत्तरदायी बनाउने संयन्त्रहरू, राजनीतिक संस्कृतिसहितको सबै विषयलाई हेर्दा हाम्रा दलहरू राज्य दोहनमा केन्द्रित रहेका छन् । सैद्धान्तिक रुपमा यस्तो भन्दै आएको छु । दलाल पुँजीवादले जहिले पनि राजनीतिक पार्टीभित्र आफ्नो सुँढ घुसाउँछ । त्यहाँभित्र एक–एक गर्दै किन्दै र एक अर्कालाई लडाउँछ र पार्टी, क्रान्ति, अग्रगति, लोकतान्त्रिक स्थिरता जहिले पनि अस्थिर बनाइदिन्छ, बर्बाद पारिदिन्छ । यो विषयलाई राजनीतिक पार्टीको सन्दर्भमा भन्ने गरेको छु ।
त्यो विवादको सन्दर्भमा खास अस्थिरतातर्फ जाँदा दलहरूलाई राज्यदोहनमा अग्रसर बनाइरहने छन् । अहिले पनि यही लाग्छ । यसर्थ हामीले त्यसबाट बच्नुपर्छ, सतर्क हुनुपर्छ र राज्य दोहनको संयन्त्र बन्नु हुँदैन भनेको हुँ ।
हिजो ओलीको आँखामा दुई प्रकारको मानिस छन् कि चाकर छन् वा शत्रु भनेको हो । बोलेको कुरा आज होइन भन्दिन । यो विषयको जिम्मा लिन्छु । मैले बोलेको थिइन, हिजोको सन्दर्भमा बोलेको हो आज छाडिदिउँ भनेर पनि भन्दिन । अहिले पार्टीको ढोका खुलेको छ त्यसैले यो सबै कुरा लिएर पार्टीमा जानेछु । यथोचित समयमा सबै समक्ष प्रस्तुत हुनेछु ।
वरिष्ठ नेता झलनाथ खनालले तपाईंहरूलाई ‘मध्यपन्थी’, ‘अवसरवादी’ भन्नु भएको छ । तपाईं खनालसँग अत्यन्त निकट रहेर काम गर्नुभएको नेता पनि हो । तपाईंहरूमाथि उहाँले सही मूल्यांकन गरेर नै यो टिप्पणी गर्नुभएको होला है ?
विचार र सिद्धान्तको तहमा कुरा गर्दा सबैभन्दा भर पर्न सकिने व्यक्ति कमरेड झलनाथ खनाल हो भन्ने कुरामा म विश्वासमा गर्छु । मेरो त्यस प्रकारको सम्मान छ । पार्टी नयाँ बनाउनुपर्छ कि पर्दैन भनेर हामीबीच निकै लामो विवाद भयो । माधवकुमार नेपाल र अन्य केही कमरेडहरूले पार्टी बनाउनपर्छ भनेर पहिलेदेखि नै भन्नुभएको थियो । म अर्को दल बनाउने होइन भन्ने कुरा गरिरहेको थिए । यो सन्दर्भमा कमरेड खनालसँग पनि २–४ पटक गम्भीर रुपमा अलग्गै छलफल गरेको थिए । खनालले पार्टीभित्रको विवादको वस्तुगत अवस्था विभाजनका लागि तयार भयो तर वैचारिक वा सैद्धान्तिक र राजनीतिक वा संगठनात्मक प्रस्तावको हिसाबले यो तयार भएको छैन भन्नुभएको थियो । यो तपाईं नयाँपिँढीले गर्ने हो, यो पुरानो पिँढीबाट हुँदैन भन्ने भनाई उहाँको मात्रै थियो । यस्तो भनेको कमरेडले हामीलाई इंगित गरेर ‘मध्यपन्थी अवसरवादीको आयु हुँदैन’ भनेर भन्नुभयो होला विश्वास गर्दिन । यस्तो भन्नुभएको हो बिरामी भएर बस्नुभएको र उहाँलाई कसले सूचना दियो र त्यसलाई उहाँले कसरी प्रोसेस गर्नुभयो ? उहाँले यो कसरी पुष्टि गर्नुहोला ? यो कुरा अनौठो लागेको छ । त्यसैले कमरेड खनालको बारेमा अहिले केही पनि भन्दिनँ । तर खनालले मध्यपन्थी अवसरवादी भन्नुभयो भन्ने छ । हामी कहाँ जे हुँदैछ वा चल्दैछ त्यसको विषयमा वास्तविक सूचना पाउनु भएको रहेनछ भन्ने कुरा दाबाकासाथ भन्छु ।
अवसर लिएर वा अवसरका लागि पार्टीमा समाहित हुनुभएको हैन त ?
मैले अहिलेसम्म डर र लोभले कुनै पनि निर्णय गरेको छैन भन्ने कुरा यो दुनियाँले मानिदेला भन्ने लाग्छ । व्यक्तिगत रुपमा जुन निर्णय गरेको छ यसमा डर र लोभको कुनै सम्भावना छैन । यसमा कुनै सन्दर्भ नै छैन । त्यसले गर्दा लोभ र अवसरको कुरा गर्दै नगरौं । भविष्यमा यो विषयलाई अझै राम्रोसँग पुष्टि गर्नेछौं ।
नवौं महाधिवेशनपछिको अवस्था हेर्दा पार्टी विभाजनको कारक तपाईंहरू पनि होइन ? महाधिवेशनबाट निर्वाचित अध्यक्षलाई तपाईंहरूले कहिल्यै काम गर्न दिनुभयो ? विरोधैविरोध मात्र गर्नुहुन्थ्यो । अध्यक्षले चाहे जस्तोगरी काम गर्न दिएको भए पार्टी विभाजनको अवस्थामा पुग्दैनथ्यो होला नि ?
कुनै पनि ठूलो सामाजिक र राजनीतिक घटना एक दुई जना मानिसले घटाउँदैनन् । यो मैले लामो समयदेखि भन्दै वा लेख्दै आएको विषय हो । त्यसमा असंख्य मानिस संलग्न हुन्छन् । हरेकलाई सोध्ने हो भने त्यसले भनेको जस्तो घटना हुँदैन । सबैले यसमा आफ्नो योगदान रहेको ठानेका हुन्छन् । सबैको कुरा एकै स्थानमा मिसाउँदा समग्र परिणाम निस्कन्छ । यो विषयमा कुनै गाउँ कमिटीको साथीलाई पनि यही प्रश्न सोध्नसक्नु हुन्छ । तिमी पनि जिम्मेवार छौ नि भन्नुभयो भने त्यो सही प्रश्न नै हुन्छ । तर यो सबै घटनामा को मुख्य हो ? हेर्दा जसका पहलकदमीहरू बढी छन् तिनीहरूलाई नै हामीले लिनुपर्ने हुन्छ । यसो श्रेय वा दोष दिनुपर्ने हुन्छ ।
कमरेड ओलीलाई काम गर्न नदिएको भन्ने कुरा म बाहेक अरु पनि भए त्यसैले दु:ख पाँए, कोही पनि नभएको भए दु:ख हुँदैनथ्यो भनेको जस्तै हो । मानौं कमरेड ओली मात्रै हुनुहुन्थ्यो भने कसैले पनि दु:ख दिँदैनथ्यो । म मात्रै संसारमा हुन्थे भने मलाई कसैले अवरोध गर्दैनथ्यो, कसैले प्रश्न सोध्दैनथ्यो, यो किन र कसो गर्यौं भनेर । यी धेरै सैद्धान्तिक कुरा भए । हामीले कमरेड ओलीलाई कुन चाँही काम गर्न दिएनौं भनेर धेरै पटक सोध्यौं । अहिलेसम्म योचाहिँ काम गर्न नपाएको हो भनेर कसैले पनि बताएन । यो प्रश्न हिजो पनि सोधिएको थियो र आज पनि तपाईंहरूले सोधिरहनुभएको छ । सम्भवत भोलि पनि पत्रकारहरूले यस्त प्रश्न सोध्नुहुन्छ होला । तर यो थाहा भएर कि यसको कुनै उत्तर छैन । पत्रकारले प्रश्न सोधिराख्ने छन् र हामीले उत्तर दिइराख्नेछौं ।
यो विभाजनमा तपाईंको भूमिकाको कुनै अंश छैन त ?
छ । यसको धेरै ठूलो जिम्मा लिन्छु । तर सबैभन्दा धेरै मैले लिन्छु भन्ने होइन । भूमिका ठिक थियो कि गलत भन्ने विषयमा मेरा दाबी छन् । तर यसमा मेरो पनि भूमिका छ यस कुरालाई स्वीकार गर्छु ।
पार्टी विभाजन हुँदा व्यक्तिगत कुराले भएका उदाहरण छन् । तर नेपालका कम्युनिष्टहरू देशीविदेशी शक्तिहरूले भूमिका खेले भन्छन् । अहिले एमालेको विभाजनमा पनि देशीविदेशी शक्तिको भूमिका छ ?
यस विषयमा सधैभरि मलाई लागेको वा दृष्टिकोणमा के छ भने अमेरिकाले अहिले कुनै नीति पारित गर्यो भने के हुनुसक्छ ? नि:सन्देह त्यो चीन, रुस, अरबको तेल, समुद्री सुरक्षासँग सम्बन्धी हुनेछ । चिनियाँहरूले लिए भने पनि नि:सन्देह यही कुराहरूसँग जोडिन्छन् भनेर भन्न सकिन्छ । हाम्रो जस्तो भू–राजनीतिमा कुनै न कुनै हिस्सामा संलग्नता हुन्छ । हेरिरहेको एउटा दर्शकको हिसाबले, एउटालाई एक थोक भन्ने अर्कोलाई अर्को थोक भनेर खेलिरहेको सक्रिय सूचकको हिसाबले, बढी नै प्रभावित पारेर एजेण्डाहरू बाहिरबाट ल्याएको हिसाबले, दुइटालाई विभिन्न एजेण्डामा लडाइँरहेको हिसाबले कुनै न कुनै रुपमा हामीकहाँ प्रभाव छ भन्ने चाहिँ मलाई लाग्छ । त्यसले गर्दा नेपालको कम्युनिष्ट पार्टीको विभाजन यो तहको घटनामा कसैले दर्शक पनि नभई, हेर्दा पनि नहेरेर वा त्यसमा आफ्नो दृष्टिकोण पनि नबनाएर कुनै शक्ति बसेको छ जस्तो लाग्दैन । एकदमै नजोडिएको हिसाबले बसेको जस्तो लाग्दैन । यसमा भूराजनीतिक दबाबहरू छन् । यसको अर्थ हाम्रो राष्ट्रिय राजनीतिमा प्रभावित पार्ने शक्तिहरू कुनै न कुनै रुपमा थोरै वा धेरै, सक्रिय वा निक्रिय हिसाबले संलग्न, सहभागी छन् ।
त्यस्ता शक्ति विभाजनको प्रक्रियामा पार्टीभित्रै छिरेका थिए ?
त्यो टुङ्गोमा पुग्दिनँ । तर बिहीबारको बैठकमा अध्यक्षले ‘तारुकाघाटमा गोरु लडाइन्छ । गोरु लडे न लडाउने हो । गोरु नै नलडेदेखि अर्कोले लडाउने थिएन’ भनेर भन्दै हुनुहुन्थ्यो । यसको अर्थ हाम्रो अध्यक्षले पनि के स्वीकार गर्नुभएको छ भने, हामी लड्दा अरुले यताउती गरे कि ? उहाँले हिजो निकालेको निष्कर्ष सधैं निकाल्नु पर्दथ्यो भन्ने लाग्छ । हामीले संसद् विघटन, पार्टी विभाजित गर्दा सधैं यही एंगलबाट हेरेर निष्कर्ष निकालेको भए सायद हामी बाँच्ने थियौं भन्ने लाग्छ ।
केही सिनियर नेताहरू विभाजनको प्रक्रियाबाट अलग हुनुभयो अब पुरानो पुस्ताको नेता केपी शर्मा ओली हुनुहुन्छ । अब महाधिवेशनमा अध्यक्ष फेरि पनि ओलीलाई बनाउने हो कि नयाँ पुस्ताबाट केही आउनु हुन्छ ?
महाधिवेशनको मुद्दा अहिलेको प्रमुख बनेको छ । दुई वटा ठूला कम्युनिष्ट पार्टीहरूले गठबन्धन गरेर चुनाव लडेको, त्यसबाट हामीलाई आसाधारण सामर्थ्य प्राप्त भएको, त्यसको जगमा पार्टीलाई एकीकृत गरेको, आजको विश्वमा कम्युनिष्ट पार्टीे ठूलो बर्चश्वका साथ संसद्मा रहेको, त्यसले पाँच वर्षसम्म कसैले हल्लाउन चलाउन नसक्ने सरकार बनाएको ठाँउबाट एकपछि अर्को खस्दै खस्दै गएर अहिले आफ्नो पार्टीको विभाजन अर्थात् २०७५ जेठ २ को एमालेसमेत बचाउन नसकेको यो समग्रतामा हामीले गरेको लायकी त्यसको हामीले लिन सकिने जस र हामीले गरेको घोर नालायकी, दुनियाँअघि हामी लज्जित भएको अवस्था, उपलब्धि र सत्यनासको यो विरोधाभाषको निकट इतिहासमा एमाले छ । यो सन्दर्भमा हामीले संसद् विघटन गरेको, अदालत गएको, आफ्नै अध्यक्षको विरुद्धमा मुद्दा हालेको, राष्ट्रपतिकोमा गएको, संसद्मा अनुपस्थित भएको, अध्यक्षले बैठक नडाकेको, डाकेको बैठकमा पनि आफै अनुपस्थित भएको, एक्लै संसद् विघटन गरेको यो सबै कुरामा मूल्याकंन र त्यसको समूचित समीक्षा र त्यसको आधारमा ठिक बाटो लिने कुराका लागि महाधिवेशन प्राथमिक विषय हो । यसको आधारमा मात्रै आगामी नेतृत्व को हुन्छ त्यसपछिको विषय हो । प्रमुख विषय हाम्रो यो विरोधाभाष नै हो । यस्तो के भयो र किन भयो भन्ने हो ।
यो सबै कुराले गर्दा, म एकदिन भएपनि निलम्बित हुन चाहन्छु । किनभने संसद्मा अनुपस्थित भएको छु । पछिको त संविधान बमोजिम धारा ७६ (५) अनुसार अदालतले भनेको जस्तो स्वतन्त्र मत राख्न पाउने व्यवस्था गरेको थियो । तर त्यसलाई पनि राजनीतिक रुपले कसरी हेर्ने हो । त्यसमा पनि गल्ती भएको रहेछ भने सजाय भोग्न तयार छु । त्यो माग गर्छु । मैले जे गल्ती गरेको छु वा मलाई त्यस्तो लागेको छ । संसद्मा अनुपस्थित हुँदा ह्वीप उल्लंघन गरेकोछु । त्यस अर्थमा एक दिन भएपनि निलम्बित हुन चाहान्छु वा थोरै दिन भएपनि ममाथि कारबाही गरियोस् भन्ने हो । तर यस्तो भन्दा ज–जसको भागमा जतिजति पर्छ त्यो भोग्न सबै तयार हुनुपर्छ । त्यसका लागि ओली तयार हुनुपर्छ, माधवकुमार नेपाल र झलनाथ खनाल तयार हुनुपर्थ्यो । अहिले हामी जो–जो एमालेमा छौं, त्यो तत्परताकासाथ हामी जाऔं, जानु पनि पर्छ ।
सत्ता गुमाएपनि माधवकुमार नेपाल वा तपाईंहरूको कदमले अध्यक्ष केपी शर्मा ओली अब झन् शक्तिशाली हुनुभयो होइन ?
सामान्यतया कुनै पनि व्यक्ति एक्लो हुँदैन । त्योसँग परम्परा, इतिहास, समाज, समूह, परिवार छ । एमाले पनि त्यस्तै हो । एमालेलाई बाँध्ने विधान छ । कमरेड ओली, माधवकुमार नेपाल रहने वा नरहने भन्ने कुराले होइन । माधवकुमार नेपाल हुनुभएको भएपनि ओलीलाई बाँध्नु हुन्थेन । माधवकुमार नेपालसमेत भएको विधिले ओलीलाई बाँध्थ्यो । नेपालले पनि विधिभन्दा बाहिर भएर ओलीलाई बाँध्न सक्नुहुन्थेन । एमालेमा कमरेड ओलीलाई केही स्वतन्त्रता र सीमा छन् । उहाँले स्वतन्त्रताको उपभोग गर्न पाउनु हुन्न भनेर हामीले जतिसुकै कराए पनि त्यो असफल प्रयत्न हुनेछ । सीमा छैन भने पनि त्यो गल्ती हुनेछ । उहाँले बाँधिनुपर्नेछ, उहाँले त्यो महसुस गर्नुपर्ने हुनेछ । उहाँलाई पार्टीे विधान, परम्पराले बाँध्नेछ । त्यसैले गणतान्त्रिक लोकतान्त्रिक पार्टीमा कोही सर्वेसर्वा हुँदैन । त्यसका पनि सीमा हुन्छन् ।
माधव नेपालको नेतृत्वमा नयाँ दल गठन भइसक्यो । अब यसको भविष्य कस्तो हुन्छ भन्ने लाग्छ ?
यो मैले भन्ने कुरा होइन र अहिले भन्न पनि चाहन्न । केही सम्झनाका सन्दर्भ भने छन् । यसअघि मैले भूराजनीतिक मामिलाको कुरा गरेँ । त्यसमा हामीलाई, कम्युनिष्ट आन्दोलनलाई अस्थिर बनाउने शक्तिहरू कस्ता कस्ता हुन् र कसरी–कसरी यस्तो हुँदै आएको छ भन्ने पनि मेरो कुरा हो । एउटा झापाली पार्टी, अर्को माओवादी पार्टी दुवै हतियार उठाएर आएका हुन् । दुवैले विभाजित भएर पनि आफूलाई स्थापित गरे । ती दुवै वैकल्पिक व्यवस्थाको कुरा गरेर आएका दलहरू हुन् । खास व्यवस्थाभित्र उस्तै–उस्तै नीति, कार्यनीति लिएका कुनै पनि पार्टी स्थापित भएका छैनन् ।
हामी पनि विभाजित हुँदा जनताको बहुदलीय जनवाद (जबज) र मदन भण्डारी, आफ्नो एउटै इतिहासको कुरा गर्यौं । राप्रपा फुटेर त्यही कुरा गरे । माओवादी फुटेर माओवादको कुरा गरे, कांग्रेस फुटेर लोकतान्त्रिक समाजवादकै कुरा गरे । सबै शतप्रतिशत, अक्षरश: असफल भएर आएको एउटा सन्दर्भ छ । अहिले गठन भएको दल कसरी इतिहास भन्दा फरक रुपमा आउँछ भन्ने विषयको उत्तर नदिइकन नयाँ दल खोल्न हुँदैन भन्ने सुरुदेखिकै मत थियो । त्यस विषयमा छलफल र उत्तर नखोजिकनै दुर्भाग्यपूर्ण रुपमा विभाजित भएका छौं । विभाजनअघि नै खोज्नुपर्ने उत्तर अब कमरेडहरूले खोज्नु हुन्छ र बताइदिनुहुन्छ भन्ने लाग्छ ।
तत्कालै एकता हुने वा चुनावका लागि कार्यगत एकतामा जाने सम्भावना छ ?
सम्भावना छ भन्नुको अर्थ असम्भव छ भनेको पनि हो । त्यसमाथि राजनीतिमा असम्भव भन्ने कुरा केही पनि छैन भन्ने थेगो नै चलेको छ । हामी जुन रुपमा जाँदैछौं त्यसमा एमालेले स्वयं के गर्दछौं भन्ने कुरामा भरपर्छ । अहिलेको हाम्रो आन्दोलनलाई निर्णायक रुपमा प्रभावित पार्ने शक्तिको रुपमा कमरेड माधवकुमार नेपालको पार्टी होइन । यति भन्नका लागि लाज मान्नुपर्दैन । त्यो पार्टीको निर्णयले आजको वामपन्थी आन्दोलनलाई निर्देशित गर्दैन । एमालेका नीतिहरूले अहिलेको वाम आन्दोलनलाई प्रभावित पार्नेछ । एमालेले राम्रो गर्नसक्यो त्यसले प्रभावित गर्नसक्ने छ । एमालेले रचनात्मक प्रभाव पार्न सकेनौं भने नकारात्मक असर पार्नेछ । त्यो प्रभावले स्वयं हामी सकिनेछौं । त्यसपछि हामीपछिको पालो कुरेर बसेको व्यक्ति हुनेछ । आगामी दिनमा स्वयं एमालेको आन्तरिक जीवनको विषयमा उठेका तमाम प्रश्नहरू छन् । एमालेको आन्तरिक प्रणाली बिग्रेको छ । एमालेको संस्थागत प्रणाली भत्केर सत्यनास भएको छ । त्यसैले एमालेको पुनर्निर्माणका लागि लागेका जोसुकै व्यक्तिका लागि अब ‘एमालेको पुनरोदय’ अब हाम्रो नारा हुन्छ र बनाउनुपर्छ । हामी भीरबाट तल खसेका छौ । धन्न मरेनौं, नराम्रोसँग थला परेका छौं । अलिकति अंगभंग भएको छ । यसलाई समेत हामीले उपचार गरेर तङिग्रएर जानुपर्नेछ । राष्ट्रिय राजनीतिमा एमालेको भूमिका अहिले पनि छ । तर यसको गौरव, पहिचान, इतिहासमा गरेको काम, प्राप्त गरेको इज्जत प्रतिष्ठा त्यो मान र वैभवलाई फर्काउनु पर्नेछ ।
यो कसरी हुन्छ ?
पहिलो, संस्थागत काम ध्वस्त भएको छ । त्यसलाई पुन:स्थापित गर्नुपर्छ । संस्थागत विषयपछि यसको राम्रो विषय स्कुलिङ थियो । पछिल्लो समयमा त्यो प्रशासनिक प्रशिक्षण प्रतिष्ठानमा खरदारको गाइड पढाएको जस्तो भएको थियो । तर त्यसमा जेभएपनि माथि भएको निर्णय तल्लो कमिटीहरूसम्म पुग्ने हुन्थ्यो । कार्यशैलीमा जनपक्षीयता असाध्य राम्रो थियो । यी धेरै कुरा खल्बलिएका छन् । यसलाई पुन: स्थापित गर्नुपर्नेछ । यो सबै गर्नका लागि एउटा देशमा जसरी नागरिक सबै बराबर हुन्छन्, त्यसैगरी पार्टीमा तिमी, म र अर्को सबै बराबर हौं भन्ने हुनुपर्छ । आजको सभ्य, लोकतान्त्रिक पार्टीमा सबै बराबर भन्ने आधारमा छलफल गर्नुपर्छ । त्यो लोकतान्त्रिक छलफलको प्रणालीलाई पुन:स्थापित गर्नुपर्छ । यति गर्न सक्यौ भने अन्य कुरा हाम्रो लागि निकै सजिलो विषय हो । एमाले त्यहाँबाट सुरु गर्न सक्यो भने, एमाले संस्थागत प्रणालीमा फर्कियो भन्ने प्रमाणित गर्न सकियो भने बाँकी कुरा सजिलो हुनेछ । इकान्तिपुरबाट साभार

