मकवानपुर । निर्वाचन आयाेगमा दल दर्ता प्रक्रियामा रहेका नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालसहितका नेताहरु चन्द्रगिरिस्थित चन्द्रगिरी हिल्स रिसोर्टमा पुगेका छन् ।
राष्ट्रपति विद्यादेवी भण्डारी र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । नेकपा एमालेको विभाजन रोक्न अन्तिम कसरत भइरहेका बेला राष्ट्रपति भण्डारीले नेता नेपालसँग भेट गरेकी हुन् । नेपाल सहितका नेता राष्ट्रपति भण्डारीसँगकाे भेट पछी रिसाेर्ट पुगेकाले राजनीतिमा अर्थपूर्ण रूपमा हेरिएकाे छ ।
यद्यपी सोमबर अध्यक्ष नेपालसहित केन्द्रीय कमिटीका सदस्यहरु तथा सांसदहरु चन्द्रागिरी पुगिसकेका हुन् । दल दर्ताको प्रक्रियामा रहेकाेले एकीकृत समाजवादी पार्टीका नेताहरूलाइ निर्वाचन आयोगले सनाखतका लागि बुधबार बोलाएको छ ।
बुधबार बिहान १० बजे सबै नेता एकैचोटी हस्ताक्षर सनाखतका लागि निर्वाचन आयोग जानेछन् । यसबिचमा घटनाले अन्यमाेड लिनसक्ने तथा पार्टीकाे अान्तरिक तयारीकाे लागि समेत चन्द्रगिरी पुगेका नेताहरु आज साेमबारदेखि बुधबार बिहानसम्म त्यही बास बस्नेछन् ।
एमाले अध्यक्ष केपी शर्मा ओली र पार्टी एकता पक्षधर नेताहरुबीच आजै १० बुँदे प्रस्ताव कार्यान्वयन गर्ने बारेमा सैद्धान्तिक सहमती भएको छ । सोही सहमतीअनुसार एमाले स्थायी कमिटीको बैठक भोली मंगलबार बस्दैछ । एकता पक्षधर नेताहरुले पार्टी दर्ता प्रक्रियाबाट हटेर एकताको पक्षमा उभिन आग्रह गरेका छन् ।

