मकवानपुर । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठकले विभिन्न तहमा इन्चार्ज ताेक्ने निर्णय गरेकाे छ । माओवादी केन्द्रले विभिन्न विभागका प्रमुख, प्रदेशका पदाधिकारी, जिल्ला समन्वय समितिका इञ्चार्ज तोक्ने निर्णय गरेको हाे।
शनिबारदेखि जारी स्थायी समितिको बैठकले उक्त विभाग र समितिका इञ्चार्ज तोक्ने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । उनका अनुसार २ दिनसम्म बसेको बैठकले पुस ११ देखि सुरु हुने केन्द्रीय सम्मेलानलाई लक्षित गरि सबैलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो।
केन्द्रीय समितिका सदस्यहरु नभएको जिल्लामा केन्द्रीय प्रतिनिधि तोकेर उनीहरुलाई इञ्चार्जको जिम्मेवारी दिइने निर्णय समेत भएकाे छ । यस्तै सबै केन्द्रीय समिति सदस्यहरुलाई जिम्मेबारी दिइएको र प्रदेश कमिटीका सदस्यलाई पनि जिम्मेवारी दिइएको छ ।
यस्तै माओवादी केन्द्रले नेपालका कम्युनिस्टहरूको एकताका लागि प्रक्रिया अघि बढाउने निर्णय पनि गरेको छ । प्रवक्ता श्रेष्ठले भने, ‘आवश्यकता अनुसार समाजवाद निर्माण गर्ने खालको शक्ति निर्माणलाई केन्द्रविन्दुमा राख्ने र त्यसका लागि क्रान्तिकारी धाराका सबै कम्युनिस्टलाई एउटै केन्द्रमा ल्याउन वार्ता तथा पहल गर्ने निर्णय गरेका छौँ, ।’

