मकवानपुर । नेकपा एमाले नेतृ अष्टलक्ष्मी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री हुने लगभग पक्का भएको छ । केन्द्रीय राजनीतिमा नेकपा एमाले विभाजन भएसंगै बागमती प्रदेश मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजिनामा दिएपछि शाक्यलाई मुख्यमन्त्री बन्ने बाटो खुल्ला भएको छ ।
बुधबार संसदीय दलका नेता तथा मुख्यमन्त्री डोरमणि पौडेलको नेतृत्वमा बसेको संसदीय दलको बैठकमा पौडेल स्वयम्ले नेतृ शाक्यलाई संसदीय दलको नेता चयन गर्न प्रस्ताव गरेका थिए । उनको प्रस्ताव बहुमतले पारित गर्दै नेतृ शाक्यलाई संसदीय दलको नेता चयन गरी प्रदेशसभा सचिवालयमा परिवर्तनको सूचनासमेत पठाएको प्रमुख सचेतक दीपक निरौलाले बताए ।
बुधबार नै मुख्यमन्त्री पौडेलले राजीनामा दिने र प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले शाक्यलाई मुख्यमन्त्री नियुक्त गर्ने समेत तयारी रहेको छ । यसको लागि प्रदेश प्रमुख प्रसाईं गृह जिल्ला झापाबाट बुधबार नै प्रदेश राजधानी हेटौंडा आएको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याएसँगै माधव पक्षले ‘नेकपा एमाले समाजवादी’ दर्ता गरेपछि शाक्यलगायत एमालेका दोस्रो तहका दर्जन नेताहरुले माधव नेपालको साथ छाडेका छन् ।
बागमती प्रदेशमा माधव पक्षको नेतृत्व गरिरहेकी अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता बनाई मुख्यमन्त्री बनाउने तयारी स्वरुप पौडेलले संसदीय दलको नेताबाट राजिनामा दिएका हुन् । एमालेको माधव पक्ष र ओली पक्ष दलगत हिसाबले एउटै भएकाले पौडेलको सत्ता टिकिरहेको थियो । यसअघि पनि बारम्बार पौडेललाई मुख्यमन्त्रीबाट राजीनामा दिन एमालेकै माधव पक्षका सांसद्हरुले माग गर्दै आएका थिए ।
बागमती प्रदेशमा कूल ११० जनामध्ये १०९ जना सांसद रहेको बागमती प्रदेशमा सरकार गठन गर्न ५६ जना सांसद चाहिन्छ । नेकपा एमालेको ५६ जना सांसद रहेका छन् । जसमध्ये केपी ओली पक्षका ३४ जना र माधव नेपाल पक्षका २२ जना सांसद रहेका छन् । यद्यपी, माधव पक्षका अर्का प्रभावशाली नेता एवम् बागमती प्रदेशसभा सदस्य राजेन्द्र पाण्डे माधव नेपालले दर्ता गरेको नयाँ दलको केन्द्रीय सदस्यमा रहेका छन् ।
मुख्यमन्त्री डोरमणि पौडेलले अहिले केहीबेरमा नै राजीनामा दिने र नेतृ अष्टलक्ष्मी शाक्यलाई नियुक्त गरिने तयारी भइरहेको बताइएकाे छ । मुख्यमन्त्री डोरमणि पौडेलको राजीनामा स्वीकृत गरी आजै नेतृ शाक्यलाई नियुक्त गर्न प्रदेश प्रमुखकाे कार्यालय तयारी अवस्थामा रहेकाे बताइएकाे छ । केन्द्रमा माधव कुमार नेपालले आफ्नो नेतृत्वमा नेकपा एमाले समाजवादी गठन गरेपछि बागमती प्रदेशमा पौडेल नेतृत्वको सरकार स्पष्ट अल्पमतमा परेको थियो ।
राजीनामा दिनुपूर्व पौडेल अहिले अन्तिम मन्त्रिपरिषद् बैठकमा छन् ।

